Advertisement Ad

दुबै मृगौला फेल भएकी सञ्चारकर्मी नेम्बाङलाई आर्थिक सहयोग

Advertisement Ad

२२ फागुन २०८०, पाँचथर। दुबै मृगौला फेल भई उपचार गराइरहेकी पाँचथरकी सञ्चारकर्मी कबिता नेम्बाङको उपचारका लागि मंगलबार आर्थिक सहयोग गरिएको छ।

फिदिम नपा–७ रानीटार निबासी नेम्बाङको उपचारका लागि फालेलुङ–७ स्थित लोजीफुङ थाङ्बेन सयङ र सेवारो युवा जमातको पहलमा संकलन गरिएको २ लाख ११ हजार ९३८ रुपैंयाँ रकम बिरामी नेम्बाङको आफन्तलाई हस्तान्तरण गरिएको हो।

विभिन्न व्यक्तिहरुको सक्रियतामा देश–विदेशबाट संकलन गरिएको उक्त रकम बिरामीको स्वास्थ्यलाभको कामना सहित हस्तान्तरण गरिएको सेवारो युवा जमातका अध्यक्ष रोहित आङबोले जानकारी दिए। काठमाण्डौस्थित बीर अस्पतालमा उपचारपछि डायलासिस गराउदै आएकी नेम्बाङलाई केहि समयअघि पाँचथर ल्याइएको थियो। त्यसैबेला अचानक सिकिस्त बिरामी भएकी उनको अहिले झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दुबै मृगौला फेल भएकी सञ्चारकर्मी नेम्बाङ।

सञ्चारकर्मी नेम्बाङको दुबै मृगौलाले काम नगर्ने भएपछि उपचारको क्रममा धेरै खर्च भएको र अहिले थप उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएको छ। २६ बर्षीया नेम्बाङको जीवन बचाउन परिवारले सहयोगको अपिल समेत गरेका छन्।

उनले बिगतमा पाँचथरको फिदिमबाट सञ्चालित सामुदायिक रेडियो सुम्हात्लुङ एफएम लगायतका सञ्चारमाध्यममा काम गरेकी थिइन्।