Advertisement Ad

६ बुँदे घोषणापत्र जारी गर्दै ६० बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् भेला सम्पन्न

Advertisement Ad

२७ फागुन २०८०, पाँचथर। ६ बुँदे घोषणापत्र जारी गर्दै ६० भन्दा बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् सम्बन्धी भेला पाँचथरको याङवरक गाउँपालिका–२ फलैंचा, वखम्बेमा सम्पन्न भएको छ।

उक्त यक्लाई बेघा, सेलिङ, योङया लगायत याक्थुङ (लिम्बू) जाति अन्तर्गतका ६० भन्दा बढी थरीहरुले आफ्नो माङ्गेन्नायक् (उत्पतिस्थल) को रुपमा लिने गरेको इक्मिसो इक्साहाङ पेखेइङ बेघा थोबोजुमका महासचिव मंगल बेघाले बताए। याक्थुङ (लिम्बू) समाजमा व्यक्तिको नाममा गरिने सबैभन्दा ठूलो अनुष्ठान माङ्गेन्ना गर्दा आफ्नो माङ्गेन्ना यक्लाई अनिवार्य पुकार्नु पर्दछ।

६० भन्दा बढी थरीहरुको माङ्गेन्ना यक्को संरक्षण र प्रबद्र्धनका लागि भेला आयोजना गरिएको हो। भेलाले उक्त माङ्गेन्ना यक्को संरक्षण, प्रबद्र्धन र प्रचार–प्रसारका लागि ६ बुँदे घोषणापत्र जारी गरेको हो। भेलामा माङ्गेन्ना यक्बारे जानकार महेन्द्र सेलिङले माङ्गेन्ना यक्कको महत्व र ऐतिहासिकतबारे प्रकाश पारेका थिए।

कार्यक्रममा प्रमुख अतिथि, याङवरक गाउपालिकाका अध्यक्ष भिमबहादुर योङया (सुवाश), याङवरक–२ का वडा अध्यक्ष देउकुमार योङया, वडा नं. ४ का वडा अध्यक्ष सबिन मावो, ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ का वडाअध्यक्ष पूर्ण माङमु, नेपाली कांग्रेसका प्रतिनिधि राजेन्द्र तिम्सिना, नेकपा एमालेका लक्ष्मी चिमोरिया लगायतले शुभकामना मन्तव्य राख्दै माङ्गेन्ना यक्कको संरक्षण गरिनुपर्नेमा जोड दिएका थिए।

भेलाले इक्साहाङ इक्मिसो पेखेइङ् बेघा थोबोजुम्का अध्यक्ष मचिन्द्र प्रसाद बेघाको अध्यक्षतामा माङ्गेन्ना यक् संरक्षण तथा सम्बद्र्धन समिति समेत गठन गरेको छ। समितिको उपाध्यक्ष महेन्द्र सेलिङ, सचिव श्रवण कुमार योङया, सहसचिवमा मानप्रकाश नुगो र कोषाध्यक्षमा चन्द्रवीर माङमु चयन भएका छन्। सदस्यहरुमा सविन माबो, देउ कुमार योङहाङ र राजकुमार योक्पाङदेन चयन भएका छन्।

माङगेना यक सम्बन्धी ऐतिहासिक भेला– २०८० को घोषणा पत्र

आज मिति २०८० साल फागुन २६ गते (9 March 2024) का दिन जिल्ला पाँचथर याङवरक गाउँपालिका वडा नं. २ साविक फलैचा गाउँ विकास समिति वडा नं. ४ वखम्बे स्थित मध्यपहाडी लोकमार्ग भन्दा केही माथिको भागमा रहेको माङगेना लुङलाई यक मान्ने आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायका थरीहरुको सहभागितामा माङगेना यक सम्बन्धी ऐतिहासिक भेला तथा पुजा कार्यक्रम आयोजना गरी भएको व्यापक बहस एवं छलफलवाट तपशील बमोजिम घोषणा पत्र जारी गरिएको छ।

तपशीलः
१. जिल्ला पाँचथर याङवरक गाउँपालिका वडा नं. २ साविक फलैचा गाउँ विकास समिति वडा नं. ४ वखम्बेमा रहेको माङगेना यकको प्रवद्र्धनका लागि कम्तीमा तीन वर्षमा एक पटक सो स्थानलाई यक मान्ने आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायका थरीहरुहरुको व्यापक भेला गरी पूजा सहितको वृहत कार्यक्रम आयोजना गरिनेछ।

२. माङ्गेना यकको संरक्षणका लागि फलैचा बजारदेखि यक् हुँदै गुरुङ गाउँसम्मको तेर्सो बाटो र इक्साहाङ इक्मिसो पेखेइङ बेघा थोबोजुमको भवन अगाडि मध्यपहाडी लोकमार्गदेखि यक् हुँदै तिम्तिम्बूसम्मको ठाडो बाटोलाई यक्को मौलिकतामा कुनै पनि असर नपर्ने गरी आवत जावत सहजताका लागि विभिन्न निकायहरुको समन्वयमा बाटोको स्तरोन्नती गरिनेछ।

३. माङ्गेना यक्को अर्थ एवंम् महत्वलाई उजागर गर्दै भावी पुस्तालाई समेत ज्ञान हस्तान्तरण हुने गरी याङवरक गाउँपालिका गाउँ कार्यपालिकाका कार्यालय, थर्पु पाँचथरलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न ज्ञापन पत्र हस्तान्तरण गरिनेछ।

४. माङ्गेना यकको मौलिकता (Virginity) को संरक्षण गर्न सोको वरिपरी कुनै पनि किसिमका भौतिक एवं अन्य संरचनाहरु निर्माण गरिने छैन।

५. माङ्गेना यकको प्रचार प्रसारका लागि विभिन्न सञ्चार माध्यमहरुसँग समन्वय सहकार्य गरिनेछ । साथै यस स्थानमा महोत्सव लगायतका कार्यक्रम आयोजना गरी यकलाई पर्यटन केन्द्रको रुपमा स्थापित गर्न पहल गरिनेछ।

६. माङ्गेना यक्को दीर्घकालित संरक्षण एवं प्रवद्धनका लागि एक समिति गठन गरी विभिन्न निकायहरुसँग समन्वय सहकार्य गरिनेछ।