Advertisement Ad

याङनाम फुङनाम मेलाको तयारी

Advertisement Ad

२७ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित खलङगाटारमा एक महिनापछि लाग्ने याङनाम फुङनाम मेलाको तयारी थालिएको छ।

रमणीय एवंम् ऐतिहासिकस्थल खलङगाटारमा बर्षेनी लाग्ने मेलालाई भव्य बनाइने फिदिम नगरपालिका–१० का वडा अध्यक्ष एवंम् याङनाम फुङनाम मेला तथा याङनाम गोल्डकप मूल आयोजक समितिका अध्यक्ष होमराज थाम्सुहाङले बताए।

चैत २७ गतेदेखि २०८१ वैशाख २ गतेसम्म लाग्ने मेलामा मौलिक साँस्कृतिक कार्यक्रम अन्तर्गत या?लाङ् (धान नाच), केःलाङ् (च्याब्रुङ नाच), साँस्कृतिक कार्यक्रम, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द विषयक साहित्यिक प्रतियोगिता र याङनाम गोल्डकप फुटवल प्रतियोगिता लगायतका कार्यक्रम हुने वडा अध्यक्ष थाम्सुहाङले बताए।

चैत २७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगितामा यसपल्ट आयोजकको दुई टोली सहित १० टिमलाई सहभागि गराइने बताइएको छ। आवासीय सुबिधा सहितको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार रुपैंयाँ र उपविजेताले नगद १ लाख १ हजार रुपैंयाँ प्राप्त गर्नेछ।

मेला तथा प्रतियोगितालाई व्यवस्थित बनाउन ३४ सदस्यीय मूल आयोजक समिति मातहत विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष थाम्सुहाङले बताए। याम बहादुर कुरुम्बाङको संयोजकत्वमा ७ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति, दिपेन खजुमको संयोजकत्वमा ७ सदस्यीय गोल्डकप उपसमिति, नरेन्द्रराज केरुङको संयोजकत्व तथा तीर्थ हाङसरुम्बाको सह–संयोजकत्वमा ७ सदस्यीय साँस्कृतिक कार्यक्रम उपसमिति र उपेन्द्र येक्तेनको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ।

याङनामको पर्यटन, रैथाने कला–संस्कृति, साँस्कृतिक परिकारको प्रवद्र्धन र प्रचार–प्रसार एवंम् खेलकुद क्षेत्रको उत्थानका लागि आयोजना गरिएको मेलाका लागि विभिन्न निकाय, संघ–संस्था र व्यक्तिहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष थाम्सुहाङले बताए। यसपल्ट मेला सम्पन्न गरेर बँचेको रकमले अक्षयकोष स्थापना गरिने समेत उनले बताए।