Advertisement Ad

Advertisement Ad

कुम्मायक गाउँपालिकाका उपाध्यक्ष खड्काले राखे आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा

२८ फागुन २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष महेन्द्र बहादुर खड्काले आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका छन्। खड्काले आइतबार आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका हुन्।

आफू जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले स्थानीय जनताको माग र चाहनालाई सम्मान गर्दै आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेको उपाध्यक्ष खड्काले बताए। गत बर्ष फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम ‘कोशी’ नामकरण भएपछि त्यस विरुद्ध निरन्तर आन्दोलन भइरहेको छ। सो क्रममा पदम लिम्बू (लाजेहाङ) को ज्यान समेत गएको छ।

प्रदेशको नाम ‘कोशी’लाई सच्याएर सभ्यता र पहिचानको आधारमा ‘लिम्बुवान किरात’ राखिनुपर्ने माग उठिरहेको शन्दर्भमा उक्त जनचाहनालाई सम्मान गर्दै कार्यकक्षमा उक्त नक्सा राखेको उपाध्यक्ष खड्काले प्रष्ट पारे। संघीय गणतान्तिक नेपाल अन्तर्गत आफू निर्वाचित भएको पालिकाले ऐतिहासिक पहिचान, सभ्यता र मुन्धुमको आधारमा ‘कुम्मायक’ नाम पाएको ऐतिहासिक दिवशको शन्दर्भ पारेर आफूले यो काम गरेको उपाध्यक्ष खड्काको भनाई थियो। खड्का नेकपा (माओवादी केन्द्र) बाट पालिका उपाध्यक्ष निर्वाचित भएका हुन्।

उपाध्यक्ष खड्काको निर्णयलाई सम्मान गर्दै पहिचान पक्षधर आन्दोलनकर्मीले आइतबार कार्यकक्षमै पुगेर उपाध्यक्ष खड्कालाई धन्यवाद दिंदै आभार व्यक्त गरेका छन्।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, आदिवासी अधिकारकर्मी एवंम् नेफिन पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्याल, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव यासेली योङहाङ, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवाश तुम्बापो लगायतले कार्यकक्षमै पुगेर आभार व्यक्त गरेका हुन्।