Advertisement Ad

बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन शुभारम्भका लागि समिति गठन

Advertisement Ad

१८ वैशाख २०८१, काठमाडौँ। बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनको औपचारिक घोषणाको तयारी भएको छ ।

त्यसको लागि बागमती प्रदेश सरकारले सोमबार मुल समारोह समिति गठन गरि घोषणा गरेको छ । यहि बैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तिब्र पारिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए । मन्त्री बज्रचार्यको संयोजकत्वमा समारोह सम्पन्न गराउन ३०३ सदस्य रहेको मुल समारोह समिति गठन गरिएको छ ।

काठमाडौंको खुसीबुमा आयोजित एक कार्यक्रममा ३०३ सदस्यीय मुल समारोह गठन गरी घोषणा गरिएको हो । समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङकासाथै अन्य तामाङ संघ–संस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुका प्रतिनिधि सदस्य रहेका छन् ।

प्रदेश सरकारले बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यान्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो । सरकारकोे निर्णय अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना) लिपीमा लेखिएका राखिनेछन् ।

त्यसदिन बागमती प्रदेश सरकारले भाषा ऐन कार्यान्वयन आउने दिनको रुपमा सार्वजानिक बिदा समेत दिएकोले खुसीको दिनको रुपमा लिदै आफुहरु घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमारसिं घिसिङले बताए । उनका अनुसार २४ गते घोषणा समारोह अघि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली निकालिनेछ ।

संविधानले दिएको अधिकार कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यान्वयन गर्न लागेकोमा धन्यवाद दिदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागि हुन अनुरोध पनि गरेका छन् । बागमति प्रदेश सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।