Advertisement Ad

कुम्मायक कुस्सायक त्रिशाली गोल्डकपः पाँचथर एफसी र रेडहर्स इलाम सेमीफाइनलमा

Advertisement Ad

१८ वैशाख २०८१, पाँचथर। पाँचथर एफसी र रेडहर्स एफसी इलाम यासोकमा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन्।

पृथ्वी माविको खेलमैदानमा सोमबार दिउँसो भएको खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवमाथि १–० को जित निकाल्दै पाँचथर एफसीले सेमीफाइनल यात्रा तय गरेको हो। पाँचथरका लागि खेलको २२ औं मिनेटमा रोजिन माझीले फ्रिकिक मार्फत् गरेको गोल नै निर्णायक बन्यो।

दोस्रो हाफको २९ औं मिनेटको खेल चलिरहँदा तनाब सिर्जना भएको थियो। कर्णसिंका खेलाडी प्रवीण जबेगु र पाँचथर एफसीका सुकराज राईबीच मैदानमै कुटाकुट हुँदा केहि समय खेल रोकिन पुगेको थियो। रेफ्रिले दुबै खेलाडीलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएपछि खेल पुनः सुचारु भएको थियो।

प्रतिश्पर्धात्मक खेलमा कर्णसिंको खेलमा फर्किने प्रयास असफल हुँदा नतिजा पाँचथरलाई सुम्पिनुपर्यो। गोलकर्ता रोजिन खेलको म्यान अफ् दि म्याच बने। उनले नजद ५ हजार रुपैंयाँ प्राप्त गरे।

सोमबार नै सम्पन्न प्रतियोगिताको अर्को खेलमा इलामको रेडहर्स एफसीले पूर्वाञ्चल एपीएफलाई २–१ ले हरायो। रेडहर्सलाई जीत दिलाउन खेलको १४ औं र ५९ औं मिनेटमा अर्जुन गुरुङले गोल गरे। खेलको इन्जुरी समयमा एपीएफका उज्वल चाम्लिङ राईले सान्तवना गोल फर्काए पनि त्यो जीतको निम्ति पर्याप्त बनेन।

रेडहर्सले अब फाइनल प्रवेशका लागि वैशाख २० गते आयोजक यलम्बर युवा संस्थासँग प्रतिश्पर्धा गर्नेछ। रेडहर्सका पुष्कर दाहालले खेलको म्यान अफ् दि म्याच बन्दै नगद ५ हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बुधबार मोरङको डाँगीहाट एफसीले झापाको दमक एकेडेमीको सामना गर्नेछ। पाँचथरको यासोकमा प्रत्येक तीन–तीन बर्षमा लाग्ने तङसुम तङ्नाम त्रिशाली पूजा तथा मेलाको अवशरमा आयोजित प्रतियोगिता वैशाख २२ गतेसम्म चल्नेछ।