Advertisement Ad

Advertisement Ad

मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ बन्दले जनजीवन प्रभावित

२ जेठ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा)मा जबरजस्त केवलकार निर्माणका लागि वन फडानी गरिएको विरोधमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित बनेको छ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत मुक्कुमलुङ संरक्षण अभियानमा सक्रिय विभिन्न संघ–संस्थाले जेठ २ र ३ गते मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात बन्दको आह्वान गरेका छन्।

बन्दका कारण झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्ग, तमोर कोरिडोरको मूलघाट–पाँचथर खण्ड र ताप्लेजुङमा बुधबार बिहानैदेखि यातायात सञ्चालन हुन सकेका छैनन्। सवारी साधन सञ्चालन नहुँदा सर्वसाधरणले भने सास्ती खेप्नु परेको छ।

मुक्कुमलुङ (पाथीभरा)लाई याक्थुङ (लिम्बू) जातिले पवित्र आस्थाको केन्द्र, शक्तिपुञ्ज एवंम् आध्यात्मिक स्थल मान्दछन्। सो क्षेत्रमा केवलकार निर्माणको बिरोध हुँदै आएको छ। केवलकार निर्माणकै लागि हालै त्यहाँका गुराँस लगायतका रुख काटिएपछि त्यसको बिरोधमा बन्द आह्वान गरिएको हो।

मुक्कुमलुङ (पाथीभारा)को मुन्धुमी महत्वलाई ध्वस्त पार्ने नियतले अगाडि बढाइएको केवलकार निर्माणको खारेजी र राष्ट्रिय फूल लालीगुराँस लगायत सयौं वनस्पती ढाल्ने पक्षले सार्वजनिक रुपमा माफि नमागे आन्दोलनलाई थप सशक्त बनाइने केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए।