Advertisement Ad

Advertisement Ad

यातायात बन्दका कारण ताप्लेजुङ महोत्सवको पहिलो दिन फुङलिङ बजार सुनसान

३ जेठ २०८१, ताप्लेजुङ। जिल्लाको पर्यटन प्रबद्र्धनका लागि आयोजना गरिएको ‘ताप्लेजुङ पर्यटन महोत्सव’को पहिलो दिन सदरमुकाम फुङलिङ बजार सुनसान देखिएको छ।

त्यहाँ रहेको प्रशिद्ध देवस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार निर्माणका लागि रुख कटान गरिएको बिरोधमा ‘मुक्कुमलुङ बचाऔं’ अभियानकर्मीले आह्वान गरेको बन्दका कारण महोत्सव प्रभावित बनेको हो। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ लगायत अभियानकर्मी र संघ–संस्थाले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा जेठ २ र ३ गते यातायात बन्दको आह्वान गरेका छन्।

महोत्सवलाई सफल बनाउन सदरमुकाम फुङलिङ बजार चिटिक्क पारेर सजिसजाउ गरिएको छ। तर, यातायात बन्दका कारण मानिस फुङलिङ पुग्न नसक्दा महोत्सव सुनसान भएको हो। बन्दका कारण महोत्सव प्रभावित बनेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले बताए। महोत्सवको पहिलो दिन आज फुङलिङ नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ।

मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले महोत्सवलाई सफल बनाउन आफूहरु तयार रहे तापनि स्थानीय र सरोकारवालाको बिरोध र असहमतीकाबीच मुक्कुमलुङको अस्तित्व र त्यहाँको प्रकृतिलाई ध्वस्त गर्ने गरी केवलकार निर्माणका लागि रातीराती कैयौं रुख कटान गरिएकाले बाध्य भएर संघर्षमा उत्रिनुपरेको बताए। त्यसमा महोत्सवसँगै जोडिएका केहि व्यक्तिको मिलेमतो रहेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।

ताप्लेजुङ जिल्लाका धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलहरुको प्रचार प्रसारका लागि आयोजना गरिएको महोत्सव पाँच दिन चल्नेछ।