Advertisement Ad

सामुदायिक रेडियोले उत्पादन तथा प्रशारण गर्ने सामग्रीबारे अन्तरक्रिया

Advertisement Ad

सन्देश सुब्बा

८ जेठ २०८१, धनकुटा। सामुदायिक रेडियोहरुले समुदायलाई शिक्षा र चेतना प्रवाह गर्ने किसिमका सामग्रीहरुको उत्पादन तथा प्रशारणमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) प्रदेश समितिले धनकुटामा सामुदायिक रेडियोले कस्ता सामग्री पस्किनुपर्छ ? भन्ने विषयमा गरेको अन्त्ररक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बिचार व्यक्त गरेका हुन्।

अन्तरक्रियामा बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले समुदाय र स्थानीय तहका गतिबिधिहरुलाई सामुदायिक रेडियोहरुले उजागर गर्नुपर्ने बताए। समुदाय र स्थानीय तहहरुले पनि सामुदायिक रेडियोहरुको वृत्तिविकासमा सहयोग गर्नुपर्ने उनले बताए।

नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख, पूर्व सामुदायिक रेडियोकर्मी नैन रुचालले समुदायमैत्री र सहभागितामुलक सामग्रीहरु उत्पादन तथा प्रशारण गर्न सकिए सामुदायिक रेडियोहरुको भविष्य अझै पनि उज्जवल रहेको बताए।

सामाजिक अभियन्ता राजेन्द्र बहादुर श्रेष्ठले वित्तिय संस्थाहरुसँग समन्वय गरी उनीहरुका सवल पक्षहरुलाई उजागर गरेर उनीहरुलाई पनि संथागत रुपमा सामुदायिक रेडियोहरुको वृत्तिविकासको अभियानमा समावेश गर्नुपर्ने विचार व्यक्त गरे।

अर्का सामाजिक अभियन्ता जेपी भुजेलले शिक्षा, सूचना र मनोरञ्जनको जगमा उभिएका सामुदायिक रेडियोहरुलाई सामाजिक जागरणमा क्रियाशील बनाउनुपर्ने बताए। धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा तितुङले समुदायभित्रका सबै क्षेत्रका आवाज सामुदायिक रेडियोहरुले बुलन्द गर्नुपर्ने धारणा राखे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता बराइली राईले व्यवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणमा समर्पित हुनुपर्ने विचार व्यक्त गरे। महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले उत्कृष्ट र समयसापेक्ष सामग्री उत्पादनका लागि सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धीमा जोड दिए।

सामुदायिक सूचना नेटवर्क (सीआईएन)का प्रमुख दीपक आचार्यले संघ, प्रदेश र स्थानीय, यी तीनै तहका सरकारले सामुदायिक रेडियोमैत्री नीति निर्माण गरी सहुलियत र सहयोग बृद्धि गरेमा सामुदायिक रेडियोहरु रुपान्तरणको अभियानमा अझ सशक्त ढंगले अघि बढ्न सक्ने उल्लेख गरे।

धनकुटा सदरमुकामस्थित मुर्चुङ्गा होटलको सभाहलमा भएको अन्तरक्रियाका वक्ताहरुले सामुदायिक रेडियोहरुले स्थानीय ज्ञान, सीप, भाषा, कला र संस्कृतिको संरक्षण, उत्थान र विकास साथै मौलिकतालाई जोड दिनुपर्ने बताएका थिए।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा चार दिनसम्म सामुदायिक रेडियोकर्मीको क्षमता अभिवृद्धी तालिमसँगै अन्तरक्रिया गरिएको हो। तालिमको सहजीकरण भने सीआईएनका प्रमुख दीपक आचार्य र अकोराबका केन्द्रीय उपाध्यक्ष बन्दना दनुवारले गरेका थिए।

तालिम तथा अन्त्ररक्रियामा प्रदेशभरीका ४० जना सामुदायिक रेडियोकर्मीको सहभागिता रहेको सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का प्रदेश अध्यक्ष बिदुर खवासले बताए।