Advertisement Ad

फिदिम–६ को बार्षिक कार्यक्रमः कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकता

Advertisement Ad

१० असार २०८१, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक विकास कार्यक्रममा कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेको छ।

वडाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि कृषि क्षेत्रको विकास र प्रबद्र्धन एवंम् कृषकहरुको प्रोत्साहनका लागि २४ लाख रुपैंयाँ बजेट छुट्याएको छ। वडाले कृषिमा ५० प्रतिशत अनुदानमा विभिन्न बिउबिजन वितरण, टनेल, ड्रम, पाइप, कम्बाइण्ड मिल र मिनि टिलर वितरण कार्यक्रम राखेको छ। त्यस्तै पशुपंछीतर्फ ५० प्रतिशत अनुदानमा मिल्क क्यान, मिल्क एनालाइजर, डिप रिफिल वितरण साथै पशु बीमामा पनि कृषकहरुलाई ५० प्रतिशन सहयोग गर्ने गरी कार्यक्रम बनाएको छ।

शिक्षा क्षेत्रको सुधार, विकास र गुणस्तर अभिबृद्धिका लागि वडाले १० लाख ९८ हजार रुपैंयाँ बराबरको कार्यक्रम बनाएको छ। जस अन्तर्गत एसइइ परिक्षा दिने विद्यार्थीहरुलाई गणीत र अंग्रेजी विषयमा कोचिङ कक्षा, विद्यार्थीहरुको व्यवसायिक ज्ञान, सिपका लागि अतिरिक्त कक्षा सञ्चालन, कम्प्यूटर वितरण, शिक्षक अनुदान र सिद्ध कालिका माविमा अध्ययनरत भौगोलिक रुपले टाढाका विद्यार्थीलाई यातायात सेवाको व्यवस्था लगायतका कार्यक्रम छन्।

वडाले वडाभित्रका युवा–युवतीलाई सिकर्मी, ड्राइभिङ, कुकिङ, सिलाइकटाई जस्ता सिपमुलक तालिम प्रदान गर्न सात लाख रुपैंयाँ बजेट छुट्याएको छ। जसबाट युवा स्वरोजगार अभिबृद्धि हुने वडाको अपेक्षा छ। आगामी आर्थिक बर्षमा वडाले आफ्नो बार्षिक विकास कार्यक्रम अन्तर्गत नै सिवा कला, साहित्य तथा साँस्कृतिक महोत्सव गर्ने भएको छ।

फिदिम–६ सिवाको सबैभन्दा बढी सम्भावना कृषिमा भएकाले त्यसमा बढी बजेट राखिएको वडा अध्यक्ष बिपन तुम्रोकले बताए। त्यस्तै विद्यालय शिक्षालाई गुणस्तर र प्रभावकारी बनाउन सकियो भने मात्र दक्ष जनशक्ति उत्पादन हुने भएकाले शिक्षालाई पनि विशेष प्राथमिकतामा राखिएको वडा अध्यक्ष तुम्रोकको भनाई छ।

प्राथमिक तहमा प्रबिधिमैत्री शिक्षणका लागि एलईडी र कम्प्यूटर प्रदान गर्ने वडाको कार्यक्रम छ। अतिरिक्त कक्षामा कक्षा ८, ९ र १० का विद्यार्थीले सार्वजनिक बिदाको दिन कम्प्यूटर, विभिन्न नर्सरी उत्पादन, तमसुक, मेलपिलाप, निवेदन, प्रस्तावना, मञ्जुरीनामा लगायतका कागज लेखन, केलाःङ् (च्याब्रुङ नाच) र साकेला नाच जस्ता व्यवहारिक र साँस्कृतिक पक्षहरु सिक्नेछन्। जसको विज्ञहरुको एट टोलीबाट पाठ्यक्रम नै तयार गरिएको वडा अध्यक्ष तुम्रोकले बताए।

कृषि र शिक्षा सँगै युवा स्वरोजगार, भाषा, कला र संस्कृति, स्वास्थ्य लगायतका क्षेत्रलाई पनि वडाले समेटेको छ। स्वास्थ्य अन्तर्गत सुत्केरी महिलालाई पौष्टिक आहार र नवजात शिशूलाई कपडा, अति बिपन्न, एकल महिला, दीर्घ रोगी, शहीद परिवार र जेष्ट नागरिकलाई स्वास्थ्य बिमाको समेत व्यवस्था गरिएको छ।

जम्मा ४३ लाख ६६ हजार रुपैंयाँको बजेट सिलिङमा समेट्नुपर्ने धेरै कुरा समेटन नसकिएको पनि वडा अध्यक्ष तुम्रोकले बताए। प्राथमिकताका आधारमा अन्य स्रोतको खोजी गरेर आगामी आर्थिक बर्षमा बाँकि विषय र क्षेत्रलाई पनि समेट्दै लगिने उनले बताए।

नेपाल सहरी शासकीय तथा पुर्वाधार विकास योजना अन्तर्गत सार्किडाँडा देखि तिजोक सडक स्तरउन्नतिका लागि ५ लाख, कृषि सडक–सिवा–मादिबुङ सडक स्तरोन्नतीका लागि ५ लाख, याक्सेरुङ सिडिमार्ग निर्माणका लागि ५ लाख, मालुवा–धुपिडाँडा हँुदै छाँगेखोला सडक स्तरोन्नतीका लागि ५ लाख, कादुरी खानेपानी मर्मतका लागि ५ लाख, सामुदायिक भवन निर्माण (सिवा युथ क्लव) का लागि १५ लाख, भगवती मावि सिवा गेट तथा घेराबाराका लागि ५ लाख, नव क्षितिज कृषक युवा समूह भवन निर्माणका लागि ५ लाख, याकथुम कृषक समूह भवन निर्माणका लागि ५ लाख, फाल्गुनन्द रङ्गशाला स्तरोन्नतीका लागि ५ लाख, उपासना बप्तिस मण्डलि मालुवा ठेसवाल निर्माणका लागि ५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फेदायक मालुवा गोरेटो बाटोका लागि ४ लाख ८ हजार, पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत सिद्ध कालीका मावि खेलमैदान निर्माण्का लागि ७ लाख र सेपेनी ढुङ्गेल गाउँ खानेपानी आयोजनाका लागि ५ लाख रुपैंयाँ र २ वटा साना सिँचाईका योजना रहेको वडा कार्यालयले जनाएको छ।