१२ साउन २०८१, पाँचथर। कवि तथा लेखक प्रकाश थाम्सुहाङकृत निबन्ध संग्रह शब्दथुमको शनिबार फिदिममा चर्चा गरिएको छ।
पुस्तक चर्चा कार्यक्रममा प्रमुख अतिथि, पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगुले थाम्सुहाङका निबन्धहरु लेखन शैलीका दृष्टिले फरक स्वादका रहेका बताए।
कार्यक्रममा निबन्धकार थाम्सुहाङ र लेखक तथा पत्रकार दीपक सापकोटाबीच प्यानल डिस्कोर्स गरिएको थियो। डिस्कोर्सको सहजीकरण साहित्यकार प्रेम ओझाले गरेका थिए।
डिस्कोर्सको क्रममा शब्दथुमका लेखक थाम्सुहाङ र सहभागिबीच सवाल–जवाफ गरिएको थियो। सहभागिले शब्दथुममा संग्रहित निबन्ध र प्रचलित नेपाली निबन्ध लेखनबारे जिज्ञासा राखेका थिए।
फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको सभाहलमा भएको कार्यक्रम नौलो साहित्यिक बिहान समाजको आयोजना तथा कोर्काली अध्ययन केन्द्रले सहआयोजनामा सम्पन्न भएको हो।
