Advertisement Ad

निर्माणाधीन ‘चोत्लुङ हरितपार्क’ पर्यटकको रोजाईमा

Advertisement Ad

भिम चेम्जोङ

२ भदौ, २०८१ पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकामा अवस्थित निर्माणाधीन  ‘चोत्लुङ हरितपार्क’ पर्यटकको रोजाइमा परेको छ ।

कुम्मायक गाउँपालिका वडा नं.३ र ४ को सीमावर्ती डाँडामा पालिकाले मौलिक घर, भ्यूटावर र रमणीय पार्क बनाइएपछि पर्यटक आउन थालेका    हुन् । फिदिम-यासोक सडक खण्ड अन्तर्गत कुम्मायक–४ वडा कार्यलय छेउबाट करिब १ किलोमिटर उकालो यात्रा गरेपछि ‘चोत्लुङ हरितपार्क’ पुग्न सकिन्छ । चोत्लुङ हरितपार्कमा निर्माण गरिएका भ्यूटावर, मौलिक घर, वरिपरि हरियाली बोटबिरुवा, चारैतिर विभिन्न रमणीय दृष्यावलोकन गर्ने सकिने विशेषताले पर्यटकको मन लोभ्याउछ ।

खरको छानो लगाएको मौलिक घर, भ्यूटावरबाट देखिने पाँचथर र छिमेकी जिल्ला तेह्रथुमको विभिन्न रमणीय ठाउँहरुकाे दृष्यावलोकन गर्दा आनन्द मिलेको फिदिमका सेसेहाङ लाओतीले बताए । घुम्नको लागि धेरै राम्रो ठाँउ बनेको सामाजिक संजालमा थाहा पाएपछि दुई घन्टा पैदल यात्रा गरेर यहाँ आएको कुम्मायक-२ माङ्जाबुङ्की सुशिला लाओतीले बताइन्।

सुरुमा यहाँ  २०५२ सालमा सम्बाहाम्फेहरुले एकताको प्रतीकको रुपमा गाडेको ७ फिटको  ढुङ्गा मात्रै थियो । २०५५ सालमा यस ठाउँको संरक्षणको निम्ति गाविसको बजेटबाट मन्दिर बनाईएको थियो । आर्थिक वर्ष ०७७/०७८ मा वन तथा भु-संरक्षण बिभागको २५ लाख बजेटले यस ठाउँमा वृक्षरोपण, फुटपाथ निर्माण तथा तारजाली लाउने काम गरिएको कुम्मायक गाउँपालिका-४ का वडाध्यक्ष फगेन्द्र सम्बाहाम्फेले बताए ।

यस ठाउँलाई अझ पर्यटकीय गन्तव्यको रूपमा बवकास गर्न आ.ब. ०८१/०८२ मा संघीय सरकारको ससर्त अनुदान र पालिकाको साझेदारीमा १ करोड ३० लाखको बजेट छुट्याईएको र तुम्याहाङ निर्माण सेवाले ९६ लाखमा ठेक्का पारी योजना सम्पन्न गरेको वडा अध्यक्ष सम्बाहाम्फेले बताए ।

‘चोत्लुङ हरितपार्क’ निर्माणकै क्रममा रहेको र यसलाई थप सुन्दर बनाउन अझै थुप्रै संरचनाहरु निर्माण गर्ने पालिकाको तयारी रहेको वडाध्यक्ष सम्बाहाम्फेले बताए । इलाम, तेह्रथुम र पाँचथरको विभिन्न ठाउँबाट दैनिक रुपमा पर्यटकहरु आइरहेकाले निर्माण सम्पन्न भएपछि कुम्मायक गाउँपालिकाको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने वडाध्यक्ष सम्बाहाम्फेले बताए ।