Advertisement Ad

जिल्ला अदालत पाँचथरमा न्यायाधीश नहुँदा पेसी चढेका मुद्धा स्थगित

Advertisement Ad

इवारा लिम्बू जबेगु

५ भदौ २०८१, पाँचथर। जिल्ला अदातलमा दरबन्दी अनुसारका न्यायाधीश नहुँदा पेसी चढेका मुद्धाहरू स्थगित गरिएका छन्।

जिल्ला अदालतमा ०७९ देखि न्याय सम्पादन गर्दै आउनु भएका न्यायाधीश टिकेन्द्र दाहाल ०८१ साउन ३१ गते सरूवा भएर जानु भएपछि त्यसयता पेसी चढेका मुद्धा स्थगित भएका हुन्।

न्यायाधीशको सरूवा भएपश्चात तत्काल अर्को न्यायाधीश नियुक्त नहुँदा पेसी चढेका मुद्धाहरू स्थगित गरिएको अदालतका तहसिलदार गोपाल खनालले बताए। उनले भने, “साउन महिनादेखि कुनै पनि मुद्धाको फैसला भएको छैन, नयाँ न्यायाधीश केही दिनमा आउनुहुन्छ, त्यसपछि न्याय सम्पादनको कार्य अघि बढ्नेछ।”

जिल्ला अदालतमा आर्थिक वर्ष ०८०–८१ मा ८ सय ७६थान मुद्धा दर्ता भएका छन्। जसमध्ये ५ सय ४३ थान फर्छ्यौट भएका छन्। ३ सय ३३ थान मुद्धा फर्छ्यौट हुन बाँकी छ। दर्ता भएका मुद्धामा देवानीतर्फका ५ सय ८७ मध्ये ३ सय ९२ थान फर्छ्यौट भएका र १ सय ९५ थान फर्छ्यौट हुन बाँकी छन्।

जिल्ला अदालतमा सम्बन्ध विच्छेदको सबैभन्दा धेरै मुद्धा दर्ता भएका छन्। जम्मा दर्ता भएका ४ सय १० थान मुद्धामध्ये ३ सय १५ मुद्दा फैसला भएका छन्। ९५ थान मुद्धा फर्छ्यौट हुन बाँकी रहेको तहसिलदार गोपाल खनालले बताए। सम्बन्ध विच्छेदका मुद्धामा अधिकांश २० वर्षदेखि २५ वर्ष र ४० देखि ५० वर्ष उमेर समूहको रहेको तहसिलदार खनालले बताए।

व्यक्तिवादी फौजदारीतर्फ ७९ मुद्धा दर्ता भएकामा २७ थान मुद्धा फर्छ्यौट भएका र ५२ मुद्धा फर्छ्यौट हुन बाँकी छन्। सरकारी फौजदारीतर्फका १ सय ९९ थान मुद्धा दर्ता भएकामा १ सय १८ मुद्धा फैसला भइसकेका छन्। ८१ थान मुद्धा फर्छ्यौट हुन बाँकी रहेको अदातलको तथ्याङ्कले देखाएको छ।

अदालतमा पुनरावेदनका १० थान मुद्धा रहेकामा ६ ओटा फर्छ्यौट भएका र चार थान मुद्धा बाँकी छन्। अदालतमा निषेधाज्ञाको मुद्धा एक थान छ। अदालतको तथ्याङ्क अनुसार दुई वर्ष म्याद नाघेका पाँच ओटा मुद्धा फर्छ्यौट हुन बाँकी छन्। जसमा जग्गा किचलोका चार र सम्बन्ध विच्छेदको एक थान मुद्धा छन्।