५ भदौ २०८१, ताप्लेजुङ। मोरङको सगरमाथा युथ क्लव ताप्लेजुङमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।
सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा रुपन्देहीको बुटवल लुम्बिनी फुटवल क्लमाथि १–० गोल अन्तरको साँघुरो जीत दर्ता गर्दै मोरङले सेमीफाइनल यात्रा तय गरेको हो।
खेलको ३० औं मिनेटमा मोरङका लागि सुशिल राईले गरेको गोल नै निर्णायक बन्यो। पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा बुटवल लुम्बिनी फुटवल क्लव पहिलो खेलबाटै घर फर्किनुपर्यो। खेलको म्यान अफ् दि म्याच मोरङका अशोक खवास बने।
प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा बिहीबार झापाको बिर्तामोड युनाइटेड क्लवले विभागीय टोली त्रिभुवन आर्मी क्लवको सामना गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।
भदौ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंयाँ र उपविजेताले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।
