६ भदौ २०८१, ताप्लेजुङ। झापाको बिर्तामोड युनाइटेड क्लव ‘ए’ डिविजन त्रिभुवन आर्मीको चुनौतीलाई पन्छाउदै जारी दोस्रो ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।
सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा प्रतियोगिताकै बलियो मानिएको भित्रुवन आर्मी विरुद्ध बिर्तामोडले ३–० को जीत निकालेको हो।
प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। खेलको ४६ औं मिनेटमा अभिषेक गुरुङको गोल सँगै बिर्तामोडले सुरुवाती अग्रता बनायो। खेलको ६५ औं मिनेटमा कप्तान देवेन्द्र तामाङले प्रहार गरेको फ्रि–किक गोलमा परिणत भयो। त्यस लगत्तै ६६ औं मिनेटमा हिसुब थपलियाले गोल गर्दा बिर्तामोडले ३–० को अग्रता बनायो।
भरत खवासको कप्तानीमा मैदान उत्रिएको भित्रुवन आर्मी क्वलको गोल गर्ने प्रयासहरु असफल हुँदा नजिता बिर्तामोडलाई सुम्पिदै घर फर्किनुपर्यो। खेलको म्यान अफ् दि म्याच बिर्तामोड युनाइटेडका देवेन्द्र तामाङ बने। उनले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे।
बिर्तामोड युनाइटेडले अब फाइनल प्रवेशका लागि भदौ ८ गते सिरहाको सलहेश युथ क्लवको सामना गर्नुपर्नेछ। प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनल खेलमा शुक्रबार आयोजक संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङ र मोरङको सथरमाथा युथ क्लवबीच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल भदौ १० गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंयाँ र उपविजेताले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक लाखेजात्रा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले बताए।
