१२ असोज २०८१, पाँचथर। फिदिमस्थित इगल एफएममा कार्यरत पत्रकार चिरञ्जीवी विश्वकर्माका बाबु गोपी विश्वकर्माको पहिरोमा परि निधन भएको छ।
फिदिम–१ दुमामा पहिरोले घर पुरिंदा ५० बर्षीय गोपीको निधन भएको हो। अन्य पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा धनकुमार तुम्बापो, राजेश तुम्बापो, उनकी श्रीमती सरस्वती तुम्बापो, कृष्ण दास र उनकी श्रीमती कमला दास रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए। बेपत्ताहरुको खोजीकार्य भइरहेको छ।
फेमेखोलास्थित हाइड्रोमा काम गर्ने उनीहरु अबिरल बर्षाका कारण खोलामा पानीको बहाब बढेपछि केही माथि आएर एक घरमा बसेका थिए। त्यतिबेलै पहीरोले घर बगाएको बताइएको छ।
यो सँगै पाँचथरमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। शनिबार बिहान फिदिम–४ चिसापानीमा पहिरोले घर पुरिंदा साथीको घरमा सुत्न आएका २४ बर्षीया सपना शेर्पा र उनकी ४ बर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको थियो। अन्य ३ जनाले भने भागेर ज्यान जोगाएका थिए।
पाँचथरमा भारी बर्षा अझै रोकिएको छैन । प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
