२ असोज २०८१, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकास्थित ‘आठराई सचेत नागरिक समाज’ प्लास्टिकजन्य फोहोर संकलन र व्यवस्थापनमा जुटेको छ।
समाजले अभियानकै रुपमा पालिकामा प्लास्टिकजन्य फोहोर संकलन र व्यवस्थापन सुरु गरेको हो।
शुक्रबार आठराई गाउँपालिका–४ इवामा आयोजित कार्यक्रममा इवाको वडा कार्यालय, स्वास्थ्य चौकी र बजार क्षेत्रमा प्लास्टिकजन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो।
समाजका उपाध्यक्ष अमर बिशुङ्खेले पालिका भित्रका सबै वडामा यस्तै अभियान चलाउने योजना रहेको बताए। कार्यक्रममा ५० बढी युवा–युवतीको सहभागिता रहेको थियो। स्थानीय सामाजिक अगुवा सुशील कन्दङवाले समाजको यो अभियानले वातावरणलाई स्वच्छ राख्न महत्वपूर्ण सहयोग पुग्ने बताए।
गत असोज १८ गते मात्र जिल्ला प्रशासन कार्यालय तेह्रथुममा दर्ता भएको यो संस्थाले अभियानलाई निरन्तरता दिंदै सामाजिक रूपान्तरणका अन्य काममा समेत सक्रियतापूर्वक काम गर्ने अध्यक्ष तेजबहादुर इङ्नामले बताए।
संस्थाका अध्यक्ष इङ्नाम, उपाध्यक्ष बिशुङ्खे, सचिव घनश्याम ढुङ्गेल, कोषाध्यक्ष शान्ता लिम्बू लगायत पालिकाका युवा–युवतीको सहभागितामा तीन वटा डस्टबिन राखि प्लास्टिकजन्य फोहोरमैला संकलन र व्यवस्थापनको सन्देश प्रवाह गरिएको थियो। स्थानीय सरकारको दायित्वभित्र पर्ने काम आठराई सचेत नागरिक समाजले गरेको भन्दै स्थानीय प्रेम कुमार तामाङले समाजले थालेकोअभियानको प्रशंसा गरे। स्थानीय हर्षकुमार इङ्नामले अभियानमा सबै जोडिनुपर्ने विचार व्यक्त गरे।
हालः दक्षिण कोरियामा रहेका अभियन्ता सुमन हाङ्स्रोङले आठराई गाउँपालिकालाई स्वच्छ, सुन्दर र हराभरा राख्न अनि समृद्ध आठराईनिर्माण गर्न आठराई सचेत नागरिक समाज सधैं क्रियाशील रहने बताए।
