२६ मंसिर, २०८१ पाँचथर | फिदिम नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समिक्षा र आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगतिको समिक्षा गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले नगरले शिक्षा, स्वास्थ्य, पुर्वाधारसँगै समग्र नगरको विकासको लागि पारदर्शि ढङगबाट काम गरिरहेको बताए | कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद भट्टराईले आर्थिक वर्ष २०८०/०८१ वार्षिक प्रगति समिक्षा र आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगति समिक्षा प्रतिवेदन पेस गरेका थिए | आर्थिक वर्ष २०८०/०८१ मा नगरको जम्मा आम्दानी १ अर्ब १३ करोड ४२ लाख ४ सय ३८ रहेकोमा ९० करोड ८६ लाख २३ हजार ९ सय ६१ रुपैयाँ (८०.१ प्रतिशत) खर्च गरिएको भट्टराइले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ | जसमा चालु तर्फ ८५.३६ प्रतिशत र पुँजिगत तर्फ ७१.४८ प्रतिशत खर्च गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को चौमासिक (कार्तिक मसान्तसम्मको) प्रगति प्रतिवेदन अनुसार नगरको जम्मा आय २२ करोड ७ लाख ७७ हजार ३ सय ७४ रहेको छ भने जम्मा खर्च १२ करोड ९४ लाख ७९ हजार ९ सय ४८ रुपैयाँ (११.३३ प्रतिशत) रहेको छ | जसमा चालु तर्फ १९.१३ प्रतिशत र पुँजिगत तर्फ ०.३३ प्रतिशत रहेको छ |
फिदिम नगरपालिकाले गएको असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाले पुर्याएको भोतिक संरचनाहरुमा हेवाखोलामा फड्के पुल, फेमेखोलामा ड्राईभर्सन निर्माण र नगरभित्रको १४ वटै वडामा रहेको सडकको मर्मत गरि सवारी सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ | त्यस्तै नगरभित्रको वाढीले पुर्णरुपमा क्षति पुर्याएको ५९ घरधुरिलाई कार्तिक मसान्त सम्ममा ९ लाख ७० हजार रुपैयाँ राहत हस्तान्तरण गरिसकिएको छ | बाढी पिडितलाई विभिन्न संघसंस्था (एन् आर् ए एन, हेल्भटास) सँग समन्वय गरि लत्ताकपडा र खाद्यन्न सामग्री उपलब्ध गराईएको बताइएको छ |
फिदिम नगरपालिकाको आयोजना र ग्लोबल कम्युनिकेस एण्ड मिडिया कर्नर प्रालिको सहजिकरणमा सम्पन्न कार्यक्रममा नगरको सेवा प्रवाहको अवस्थाको सर्वेक्षण प्रतिवेदन र नगरवासीको सुझाव तथा जिज्ञासाहरु रेडियो मितेरिका स्टेशन म्यानेजर खविन लुइटेलले प्रस्तुत गरेका थिए | सार्वजनिक सुनुवाई कार्यक्रम १४ वटै वडाको प्रतिनिधि मुलक उपस्थितिमा नागरिकहरुले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए | नागरिकले राखेका जिज्ञासाको सम्बन्धित वडाध्यक्ष र प्रमुख प्रमुख प्रशासकिय अधिकृतले जवाफ दिए ।
सम्पुर्ण राजनितिक दल, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा सबै राजनितिक दलले नगरको गतिविधिको बारेमा आफ्नो धारणा राख्दै सुझाव राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष रामराज आङ्देम्बेको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको रुपमा उपस्थित आङ्देम्बेले नगरवासिको गुनासो र सुझावहरुलाई सम्बोधन गर्दै नगरको कार्यसम्पादन गर्न सुझाव दिए ।
सार्वजनिक सुनुवाईमा उठेका सबै जिज्ञासाहरुको जवाफ दिदै धेरै जसो नागरिकले राखेका गुनासाहरुको समाधान भैसकेको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए । नगरको बिकास र पारदर्शि कार्यसम्पादनको लागि नगरवासीको सुझाव, सल्लाहलाई सधै आत्मासाथ गरेर अगाडि जाने काफ्लेले बताए । कार्यक्रम फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो |



