९ भदौ, २०८१ पाँचथर | मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ फिदिममा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप पुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ |
फिदिम माविको खेलमैदानमा मंगलवार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा सुनसरीको न्यु स्टार फुटवल क्लव माथि ६-२ गोल अन्तरको शानदार जित निकाल्दै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रलाई जित दिलाउन बिजु भुजेलले ब्यक्तिगत २ गोल गरे भने मनिस डाँगी, आदित्य शाक्य र सौरभ सुब्बाले समान १-१ गोल गरे | बाँकी एक गोल भने मच्चिन्द्रले आत्माघाती उपहार पाएको थियो ।
खेलको अधिकांश समय दवाब झेलेको न्यु स्टारका लागि सुशिल राई र सन्दिप श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए | खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ बने | उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे |
प्रतियोगिता अन्तर्गत वुधवार लिग लिडर चर्च ब्वाइज युनाइटेड क्लव र विराटनगर सिटी फुटवल क्लव बीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए |
पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।
