Advertisement Ad

Advertisement Ad

सुम्हात्लुङ टाइम्सकर्मी हाङसरुम्बा पुरस्कृत

१ माघ २०८१, पाँचथर। सुम्हात्लुङ टाइम्स डटकमकी संवाददाता एवम् सुम्हात्लुङ टाइम्सको डिजिटल प्लेटफर्मकी कार्यक्रम प्रस्तोता रजनी हाङसरुम्बा फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएकी छिन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशनको आवरमा सोमबार पत्रकार हाङसरुम्बालाई पुरस्कृत गरिएको हो। सदरमुकाम फिदिमस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा उनलाई सम्मान–पत्र सहित पाँच हजार रुपैंयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको थियो।

सोही अवसरमा फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार २०८० पत्रकार सुवाश राईलाई प्रदान गरिएको छ। पुरस्कृत राई फालेलुङ न्यूज डटकमसँग आबद्ध छन्। उनलाई पनि सम्मान–पत्र सहित पाँच हजार रुपैंयाँ राशीको पुरस्कार प्रदान गरिएको हो। पुरस्कृत दुबै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि, फोनिजका संघीय लेखा समिति संयोजक चन्द्र पन्दाकले पुरस्कार वितरण गरेका थिए।

गत वर्ष प्राविधिक कारणले वितरण गर्न नसकिएकाले पाँचौं जिल्ला अधिवेशनको अवसरमा वितरण गरिएको फोनिज पाँचथरका निवर्तमान अध्यक्ष रामचन्द्र तामाङले बताए।