२३ वैशाख २०८२, पाँचथर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फिदिम आउने भएका छन्।
नेकपा (माओवादी केन्द्र)ले बिहीबार सदरमुकाम फिदिममा आयोजना गर्ने खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड फिदिम आउने भएका हुन्। सो बारे जानकारी दिन नेकपा (माओवादी केन्द्र)ले मंगलबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा वैशाख २५ को खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड फिदिम आउने पार्टीका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज इन्द्र बहादुर आङबो (मौसम)ले बताए।
वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको, भ्रष्टाचार बढेको र सरकार स्वयम् भ्रष्टाचारीहरुको संरक्षणमा लागेको, जनतामा चरम असन्तुष्टि, निरासा बढेको र यसैको फाइदा उठाउदै प्रतिगामी तत्वहरु सल्बलाउन खोजेकाले खबरदारी सभा गर्नुपरेको नेता आङबोको भनाई थियो।
उक्त खबरदारी सभामा दश हजारको हारहारीमा कार्यकता सहभागि गराउने गरी तयारी भइरहेको नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटि अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले बताए। खबरदारी सभाको तयारी तिव्र रुपमा भइरहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, पाँचथरका संयोजक विषाल रसाइलीले जानकारी दिए।

