११ जेठ २०८२, पाँचथर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको परिस्थितिमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुने बताएका छन्।
आइतबार पाँचथर सदरमुकाम फिदिममा नेपाल प्रेस युनियन पाँचथरले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो बताएका हुन्। त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा दैनिक ५० लाखसम्म भ्रष्टाचार हुने हुने गरेको र गृह मन्त्रालयसम्मै सेटिङ हुने रहेको विषय उठेपछि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुने नेता कोइरालाले बताएका हुन्।
उनले यस्तो विषयमा विगतमा पनि मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाएको स्मरण गराउदै वर्तमान गृहमन्त्री लेखकले पनि राजीनामा दिएर नैतिकता देखाउदा उपयुक्त हुने विचार व्यक्त गरे। नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले जनतालाई उत्तेजित बनाउने अभिव्यक्ति दिएर मुलुकलाई मुठभेडतर्फ लान खोजेको आरोप लगाए।
जेठ १५ गते गणतन्त्र दिवशको दिन राजावादीहरुले गर्ने आन्दोलनलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीको जेठ १५ गते काठमाडौं उपत्यका नेकपा एमालेका कार्यकर्ताको कब्जामा हुनुपर्छ भन्ने अभिव्यक्तिले प्रधानमन्त्रीले नै मुलकुलाई मुठभेडमा लान खोजेको देखिएको नेता कोइरालाको आरोप थियो।
नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा नै हुनुपर्ने अडान दोहार्याएका नेता कोइरालाले त्यसका लागि दबाब सिर्जना गर्न कार्यकर्तालाई आह्वान गरे। सोमबार पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतीनस्थित पञ्चमुखी रङ्गशालमा हुने नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्न नेता कोइराला पाँचथर आएका हुन्।