Advertisement Ad

Advertisement Ad

विद्यालयको शैक्षिक उन्नयनको लागि महादेव गुप्तेश्वर मा.वि. मा अक्षय कोष स्थापना, सहयोगि दाताहरुलाई सम्मान

१३ जेष्ठ, २०८२ पाँचथर । फिदिम १४ स्थित महादेव गुप्तेश्वर मा.वि. ले विद्यालयको शैक्षिक उन्नयनको लागि अक्षय कोषको स्थापना गरेको छ ।

सोमबार विद्यालयमा अक्षयकोष स्थापनार्थ सहयोग पुर्याउने दाताहरुलाई  सम्मान कार्यक्रमको आयोजना गरि अक्षयकोषको बारेमा जानकारी गराइएको हो । महादेव गुप्तेश्वर मा.वि. अक्षय कोषमा हालसम्म ३६ लाख २९ हजार १३४ रुपैयाँ संकलन भैसकेको विद्यालयका प्रधानध्यापक कमल प्रसाद बास्कोटाले बताए । अक्षय कोषमा विद्यालयका शिक्षक, अविभावक, पुर्व विद्यार्थी लगायत विभिन्न व्यत्तित्वहरुको आर्थिक सहयोगबाट स्थापना गरिएको प्रधानाध्यापक बास्कोटाले बताए ।

विद्यालयमा अंग्रेजी माध्यम सञ्चालनलाई निरन्तरता दिन साथै न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान, उच्च शैक्षिक कार्यक्रम, मातृभाषा पठनपाठन लगायत विविध कार्य गर्नका लागि अक्षय कोष स्थापना गर्नपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर फागोले बताए । फागोका अनुसार अक्षय कोषमा संकलित रकमलाई अधिकतम ब्याज आउने क्षेत्रमा लगानी गरी आउने ब्याजलाई कोषको उदेश्य पुरा गर्न खर्च गरिनेछ । कार्यक्रममा अक्षय कोषमा आर्थिक संकलन गर्ने १७० जना दाताहरुलाई सम्मान पत्र र शिलालेखमा अभिलेख राखी सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लले विद्यालयले शैक्षिक सुधारका लागि अघि सारेको अक्षय कोषको अवधारणाले शैक्षिक सुधारमा महत्वपूर्ण टेवा पुग्ने बताए । “विद्यालयको सुधारका लागि जसरी एकजुट भएर अक्षय कोष स्थापनाको लागि लाग्नुभएको छ, यसलाई निरन्तरता दिनुहोस” नगर प्रमुख काफ्लेले भन्नुभयो “विद्यालयको अन्य विविध विकासका लागि नगर साथमा छ ।“ यस्तै नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, अविभावक र सम्बन्धित सबैको समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।