१४ जेष्ठ, २०८२ पाँचथर । फिदिम नगरपालिकाले कृषिमा यान्त्रिकीकरणका लागि तीन करोड साठी लाख बराबरको कृषि औजार तथा उपकरण खरिद गरेको छ ।
फिदिम नगरवासी नागरिकहरुको जीवनलाई रुपान्तरण गर्न कृषिमा यान्त्रिकीकरण गर्ने उदेश्यले उपकरण खरिद गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लले बताउनुभयो । खरिद गरिएको उपकरणहरुमा १८१ वटा मिनीटिलर, १६० वटा च्याफ कटर, ५४४ वटा टर्नेल रहेका छन् ।
त्यस्तै ६५ वटा पानी पोखरी, १८५ वटा राईस मिल, ११ वटा मकै छोडाउने मेसिन, २ वटा उखु मिल, ४० वटा स्प्रेयर, ९०० वर्ग मिटर ईन्सफ्ट नेट, ५३ वटा काउम्याट, २० वटा फ्रिज, १४० वटा मिल्क क्यान, ४ वटा मिल्क एनालाईजर र २० वटा ५ सय लिटरको वाटर ट्याङक खरिद गरिएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।
उपकरणहरु ५ वटा ठेक्का र ई बिडिङ मार्फत खरिद गरिएको हो । नगर प्रमुख काफ्लेका अनुसार उपकरणहरुको वितरण सम्बन्धित वडाको सिफारिसको आधारमा गरिनेछ । उपकरणहरु खरिद गर्दा विद्युतिय खरिद प्रणालीलाई अपनाइएको हुँदा प्राविधिक लागत अनुमानमा ५२ लाख ५ हजार ९८५ रुपैयाँ बचत समेत भएको काफ्लेले बताउनुभयो ।
फिदिम नगरपालिकाले कृषि क्षेत्रको सुधारका लागि गोठ सुधार, नश्ल सुधार, उन्नत जातका विउ वितरण लगायतका कार्यक्रम पनि गर्दै आएको छ ।