Advertisement Ad

Advertisement Ad

कविता राई गाउँलेले ल्याइन् ‘फाटकमा घाम’

१८ जेठ २०८२, इलाम। सुदूरपूर्वको सिमावर्ती बजार पशुपतिनगरमा बसेर लामो समयदेखि साहित्य सिर्जनामा सत्रिय रहँदै आएका कवि कविता राई गाउँलेले ‘फाटकमा घाम’ कविता सङ्ग्रह ल्याएकी छिन्।

शनिबार सूर्योदय नपा–२ पशुपतिनगरमा ‘फाटकमा घाम’को विमोचन भएको छ। एक समारोहका बिच छिमेकी मुलुक भारतका कवि मनप्रसाद सुब्बा, नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख, प्राज्ञ राजन मुकारुङ लगायतले सङ्ग्रहको विमोचन गरे।

विमोचन समारोहमा बोल्दै कवि मनप्रसाद सुब्बाले ‘फाटकमा घाम’भित्र सङ्ग्रहित कविताहरुमा जनजीविकाका सवालले प्रधानता पाएको बताए। राईका कवितामाथि प्राज्ञ शशी लुमुम्बु, कवि हाङयुग अज्ञात, सिक्किमका कवि प्रविन खालिङले समीक्षात्मक टिप्पणी राखेका थिए। वक्ताहरुले नारीवादी चेतबाट प्रेरित भए पनि राईका कविताहरुले शालीनता नभुलेको टिप्पणी गरे।

सङ्ग्रहका लेखक राईले जीवन जिउने क्रममा आफूले देखेका र भोगेका कुराहरुलाई कविता बनाउने कोसिस गरेको बताउदै जसलाई सङ्ग्रहको रुपमा पाठकलाई स–प्रेम समर्पण गरेको बताइन्।

कार्यक्रममा प्राज्ञ राजन मुकारुङ, साहित्यकार कृष्ण बराल, कवि विमल वैद्य, देवान किराती लगायतले संग्रहका कविता वाचन गरेका थिए। कवि राई २०४८ देखि कविता लेखनमा निरन्तर सक्रिय छिन्। रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सङ्ग्रहमा ४९ कविता समेटिएका छन्।

‘फाटकमा घाम’ कवि कविता राई गाउँलेको पहिलो कविता–कृति हो।