२० जेठ २०८२, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति तेह्रथुमले दुई लाख रुपैंयाँको पुरस्कार कोष स्थापना गरेको छ।
मंगलबार सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यायेमको सभाहलमा आयोजित कार्यक्रममा दुई लाख रुपैंयाँ मूल धन भएको ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’ घोषणा गरिएको हो।
उक्त कोषको व्याज बापत आउने रकमबाट हरेक वर्ष ‘फोनिज डे’ को दिन तेह्रथुममा रहेर सक्रिय पत्रकारिता गर्दै आएका एक जना फोनिजकर्मीलाई सम्मान–पत्र सहित दश हजार रुपैंयाँ राशीको ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ।
पुरस्कार कोष स्थापनाका लागि तेह्रथुमको आठराई गाउँपालिका–७ थोक्लुङ घर भई हालः यूकेमा रहनुभएका समाजसेवी तारा बहादुर कन्दङवाले सहयोग गरेको फोनिज तेह्रथुमका अध्यक्ष वविता राईले बताइन्।
तत्कालका लागि दुई लाख रुपैंयाँको उक्त कोष तेह्रथुम सदरमुकाम म्याङलुङमा नामी सहकारीको रुपमा चिनिएको सहयोगी वचत तथा ऋण सहकारी संस्थामा राखिएको अध्यक्ष राईले जानकारी दिइन्।
उक्त पुरस्कार आउँदो साउन २७ गते २६ औं ‘फोनिज डे’को अवसर पारेर वितरण शुभारम्भ गरिनेछ। कोषको व्याज बापतको पहिलो वर्षको रकम आगामी वर्ष मात्र आउने भए पनि कार्यसमितिले आन्तरिक व्यवस्थापन गरी पुरस्कार भने यसै वर्षदेखि वितरण गरिने अध्यक्ष राईको भनाई छ।
फोनिज तेह्रथुमले पहिलोपल्ट स्थापना गरेको पुरस्कार कोषबाट वितरण गरिने पुरस्कारले फोनिजको संस्थागत विकासमा एवम् पत्रकारिताको माध्यमबाट समाज रुपान्तरको निम्ति तेह्रथुमे फोनिजकर्मीले पुर्याएको योगदानको सम्मान हुने फोनिज तेह्रथुमका अध्यक्ष राईले विश्वास व्यक्त गरिन्। पुरस्कार कोष घोषणा कार्यक्रममा उनले कोष स्थापनाका लागि दुई लाख रुपैंयाँ सहयोग गर्ने समाजसेवी तारा बहादुर कन्दङवालाई धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ, फोनिज तेह्रथुमका सल्लाहकार एवम् सामुदायिक रेडियो मेन्छ्यायेमका स्टेशन मेनेजर भगिश्वर तेयुङ लिम्बू (मनोज)लगायतले पुरस्कार कोष स्थापना गरेर ऐतिहासिक कार्य गर्ने फोनिज जिल्ला कार्य समितिको कार्यको प्रशंसा गर्दै कोष स्थापना गर्न सहयोग गर्ने सामाजिक व्यक्तित्व तारा बहादुर कन्दङवालाई धन्यवाद दिएका थिए।
हालः यूकेमा रहेका समाजसेवी कन्दङवाले नागरिकलाई सुसूचित गर्न, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न र आदिवासी जनजातिका भाषा, कला, संस्कृति र अधिकार सुनिश्चितताका निम्ति अहोरात्र खट्ने आफ्नो गृहजिल्लाका फोनिजकर्मीलाई पुरस्कृत र सम्मानित गर्ने गरी कोष स्थापनामा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्।
उक्त पुरस्कार वितरण कार्यलाई व्यवस्थित गर्न ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार छनोट तथा वितरण कार्यविधि, २०८२’ निर्माण गरिएको र सोही कार्यविधि अनुसार हरेक वर्ष पुरस्कार छनोट र वितरण गरिने फोनिज तेह्रथुमकी सह–सचिव सविना लुम्फुङवा लिम्बूले बताइन्।

