Advertisement Ad

Advertisement Ad

मिक्लाजुङ–१ को भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान

२३ जेठ २०८२, पाँचथर। मिक्लाजुङ गाउँपालिका–१, सराङडाँडास्थित सिङ्हाङमा रहेको श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयवासी र सरोकारवालाको सक्रियतामा अभियान सुरु गरिएको अभियानका आर्थिक संयोजक चिरञ्जीवी राईले जानकारी दिए । अक्षयकोष स्थापनामा आर्थिक सहयोग गर्ने दाताहरुको लहर बढ्न थालेको उनले बताए । यस विद्यालयका पूर्वविद्यार्थी र हालः वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका स्थानीय युवाहरुले सामुदायिक विद्यालयलाई सबल बनाउन सरकारको मात्रै मुख ताक्न नहुने भन्दै देशविदेशबाट सहयोगमा जुटेका छन् ।

यसैबीच, विद्यालयको शैक्षिक उन्नतीमा उर्जा प्रदान गर्न बुधबार एक कार्यक्रमको आयोजना गरी मिक्लाजुङ–१ वासी उत्तरे शेर्मा परिवारको तर्फबाट आफ्ना बुबा स्व.देवप्रसाद शेर्मा र आमा लक्ष्मीकुमारी शेर्माको नाममा एक लाख पाँच हजार नगद रुपैयाँ दाता परिवारका जेठा छोरा महेन्द्र शेर्मा र बुहारी जयकुमारी राईले समितिलाई हस्तान्तरण गरेका छन् । सोही अवसरमा स्थानीय समाजसेवी गजुरमान राईले आफ्नी दिवङ्गत श्रीमतीको स्मृतिमा ५० हजार रुपैयाँ अक्षयकोषमा रकम प्रदान गरे । अक्षयकोषमा हालसम्म २ लाख ४६ हजार ९६५ रुपैयाँ रकम संकलन भएको जनाइएको छ ।

अक्षयकोष रकम हस्तान्तरण समारोह मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पञ्चकुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि शेर्माले सहयोगी दाताहरुलाई बधाई दिंदै आफूले अध्ययन गरेर हुर्किएको विद्यालयको इतिहास बचाउने सकारात्मक सोचका साथ अभियान थालनी गर्ने सबै सरोकारवालाहरुलाई शुभकामनासहित धन्यवाद दिएका छन् ।

आगामी वर्षदेखि गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने, ई–हाजिरी र आवश्यकता अनुसार भौतिक पूर्वाधारमा सुधार गरिने योजना रहेको उनले बताए । २०७८ सालको अविरल वर्षाले मिक्लाजुङ गाउँपालिकाभित्रका धेरै विद्यालयका भौतिक संरचना भत्काएकोले जीर्ण रहेका भवन सुधारका लागि विद्यालयले माग पेश गरे अनुसार मर्मत र निर्माण गरिने जानकारी दिए ।

गुणस्तरीय शिक्षाको सुधार कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । सबै सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै सामूहिक रूपमा सहकार्य गर्दा मात्रै शिक्षामा सुधार सम्भव हुने उनले बताए । विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र समुदायबीचको सहकार्यले मात्र दीगो विकास र समृद्ध समाजको परिकल्पना गर्न सकिने उनले धारणा राखे ।

प्रधानाध्यापक रमेशचन्द्र नेउपानेले विद्यालयको गतिविधि र आवश्यकता सहित अक्षयकोष स्थापना अभियान सञ्चालन थालिएको प्रष्ट्याउँदै समाज रुपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका रहने हुँदा भौतिक संरचनासँगै गुणस्तरीय पठनपाठनका लागि सरोकारवालाहरु सबैले जिम्मेवारी बहन गर्न उनले आग्रह गरेका छन् ।

मिक्लाजुङ–१ मा २०१३ सालमा स्थापना भएको यस विद्यालयमा ८ कक्षासम्म पठनपाठन भइरहेको छ । विद्यालयमा बालशिक्षा सहित नौ वटा कक्षा छन् । यहाँ छ जना प्रावि तहका दरबन्दी शिक्षकमध्ये तीन स्थायी र एक राहत गरी चार जना, निमावितर्फ एक राहत र एक अस्थायी करार गरी दुईजना शिक्षक छन् । बालविकासमा एकजना र एक प्रावि निजी साथै दुईजना कार्यालय सहयोगी गरी जम्मा १० जना कर्मचारी भएता पनि दुईवटा दरबन्दीको अभावसँगै सबै कक्षामा पर्याप्त शिक्षक नभएको उनले बताए ।

विद्यालयको छ रोपनी आफ्नो जमिन, खेल मैदान टाढा, माटो र ढुंगाले निर्माण गरिएका संरचना छन् । केही पुराना भवनको अवस्था जीर्ण हुँदै गएकाले जोखिमको सम्भावना बढेको प्रधानाध्यापक नेउपानेले बताए । हालः चारवटा भवनका १० वटा कोठामा जोखिम रहेको उनले बताए । व्यवस्थित शौचालय, विद्यालय परिसरमा घेराबारासँगै प्रवेशद्वारको आवश्यकता रहेको उनले बताए । दयनीय भौतिक पूर्वाधारले विद्यार्थीको मनोविज्ञानमै असर पार्ने, असुरक्षित भवन र कक्षाकोठाले आकर्षण घटाउनेमात्र होइन, पढाइमा केन्द्रित हुन नसक्ने समेत उनको भनाई छ । हाल यस विद्यालयमा जम्मा ३८ जना विद्यार्थी अध्ययनरत छन् ।

मिक्लाजुङ गाउँपालिकामा जम्मा ५६ वटा सामुदायिक विद्यालयमध्ये ११ वटा माध्यमिक विद्यालय छन् । पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश वस्तीका मानिसहरू वैदेशिक रोजगारीमा जाने क्रम तीब्र छ । उनीहरुको परिवारका छोराछोरी गाउँबाट सुविधा सम्पन्न ठाउँमा अध्ययन गर्न जाने चलन बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । यसैको मारमा यो विद्यालय पनि अछुतो छैन ।

कार्यक्रममा मिक्लाजुङ कार्यपालिका सदस्य शमशेर राई, वडासदस्य धनराज राई, विव्यस पूर्वअध्यक्षद्वय भोगेन्द्र आङ्देम्बे र डम्बर आङ्देम्बे, श्री खान्द्रुङ माविका शिक्षक अविभाक संघ अध्यक्ष महेन्द्र राई, समाजसेवी प्रवीण राई, सन्तोषविक्रम आङ्देम्बे लगायतले मन्तव्य राखेका थिए । अक्षयकोषदाता गजुरमान राईले यस विद्यालयको इतिहास र वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै सुझाव सहित शुभकामना दिए ।

विद्यालयका पूर्वविद्यार्थी एवम् दाता परिवारका सदस्य बच्चु हिमांशु (कैलाश शेर्मा)को विशेष पहलमा आयोजना गरिएको कार्यक्रममा उनले शुभकामना दिंदै यस शैक्षिक संस्थालाई सबैले माया गर्नुपर्ने बताए । उत्तरे शेर्मा परिवारको तर्फबाट जेहेन्दार दुईजना छात्रछात्रालाई पुरस्कृत गरिएको र आगामी शैक्षिकसत्रबाट निरन्तरता दिइने जनाए । वडामा बुद्धिचाल, चित्रकला र भलिबल प्रशिक्षण छिट्टै आयोजना गरिने र श्री फाक्तेप युथ क्लब मार्फत फुटबल प्रशिक्षण समेत आयोजना हुने बताए । उनको व्यक्तिगत लगानीमा प्रवेशद्वारमा आकर्षक विद्यालयको बोर्ड र विद्यालयको प्रत्येक कक्षाकोठामा डस्टबिन सौजन्य गर्ने प्रतिबद्धता समेत जनाउँदै शैक्षिक सुधारमा सहायता पुग्ने विभिन्न आकर्षक कार्यक्रम ल्याउने जानकारी दिए ।

कार्यक्रमलाई समापन गर्दै विव्यस अध्यक्ष पञ्चकुमार चेम्जोङले सबै शिक्षक र आम अभिभावकले आफ्ना छोराछोरी यसै विद्यालयमा पठपाठन गराउन अनुरोध गरे । शिअसं अध्यक्ष लाखबहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रम विद्यालयका शिक्षक चन्द्रप्रकाश चेम्जोङले सञ्चालन गरेका थिए ।