९ असार २०८२, पोर्चुगल। याक्थुङ (लिम्बू) समुदायको महान चाड सिसेक्पा तङनाम ५०८५ (साउने सङ्क्रान्ती २०८२) लाई मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
पोर्चुगलको राजधानी लिस्बोन स्थित बेला–बिस्ता पार्कमा २८ जुलाई सोमबार उक्त कार्यक्रम हुने भएको हो। ‘हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो पहिचान, नयाँ पुस्तामा हस्तान्तरण हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ उक्त कार्यक्रम हुने भएको हो।
युरोपेली मुलुक पोर्चुगलमा स्थापना कालदेखि नै सक्रिय रहेको संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलले विभिन्न कालखण्डमा संस्थाले संस्थागत कार्यक्रम लगायत सहयोगहरू गर्दै आइरहेको छ।
संस्थाले उक्त कार्यक्रममा युरोपेली मुलुक स्थित चुम्लुङमा आवद्ध सबैलाई प्रतिनिधि मुलक पाहुनाको रुपमा उपस्थितिको लागि अनुरोध समेत गरेको संस्थाका अध्यक्ष रुकमान केरुङले जानकारी दिए।
किरात याक्थुङ चुम्लुङ पोर्चुगलको स्थापना कसरी भयो ?
किरात याक्थुङ चुम्लुङ नेपालको मूल मर्म तथा विधानलाई आत्मसात गर्दै पोर्चुगलमा रहेका याक्थुङ (लिम्बू)हरुलाई एकीकृत गरि याक्थुङ संस्कार सँस्कृतिको संरक्षण सम्बद्र्धन तथा पुस्तान्तरणको अभियान सञ्चालन गर्न, आदिवासी जनजाति अधिकार र मानव अधिकारको विश्वव्यापी घोषणा पत्रलाई अंगिकार गरि याक्थुङ पहिचानको अन्तर्राष्ट्रियकरणमा सर्वपक्षीय योगदान पुर्याउनका लागि कियाचु एक गैर–राजनीतिक, गैर–व्यबसायिक, विशुद्व सामाजिक संस्थाको रुपमा स्थापित गरि समस्त याक्थुङहरुलाई एक भई सामाजिक क्षेत्रमा काम गर्नका लागि स्थापना गरिएको संस्था हो। सन् २०१४ मा केन्द्र विक्रम लिम्बूको अध्यक्षतामा किरात याक्थुङ चुम्लुङ, पोर्चुगलमा विधिवत रुपमा संस्था स्थापना भएको हो ।
किन मनाइन्छ सिसेक्पा तङनाम ?
भाषा शास्त्रीय हिसाबले सिसेक्पा भन्नाले ( सि + साक् + पा ) को अर्थ मरण छेक्ने वा मर्ने तवरको अनिकाल छेक्ने चाड भन्ने बुझाउँदछ। पुर्खाहरूले जीवनयापन गर्ने क्रममा अनिकाल, भोकतिर्खासँग धेरै संघर्ष गर्नुपर्यो । पुर्खाले जङ्गली युगदेखि कृषि युगसम्म आइपुग्दा भोगेका संघर्षहरूलाई पार लगाउने उपाय खोज्दै यो समयमा यो तङ्नाम मनाउन सुरु गरेको देखिन्छ ।
पुर्खाहरूले जीवन जिउने क्रममा विभिन्न किसिमको दुःखकष्टहरू आउने गरेकाले यसबाट मुक्ति पाउँने उपायहरू खोज्दै समुदायमा चाड–पर्वहरूको रुपमा मनाउदै भावी सन्ततिहरूमा कहिले पनि यस्तो अनिकाल आइनपरोस, आइपरीहाले पनि त्यसको सामना गर्नको निम्ति सचेत गराउन पनि यो सिसेक्पा तङ्नाम मनाउने गरिन्छ ।
