९ असार २०८२, झापा। संघीय लिम्बुवान सामाजिक मञ्च यूएईले वीरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औंजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन आफ्नो आत्मकथा बेच्दै झापा पुगेका नेपाल आविस्कार केन्द्रका महावीर पुनको अभियानलाई आर्थिक सहयोग प्रदान गरेको छ।
मञ्चले यूएईमा संकलन गरी पठाएको सहयोग रकम झापा, दमकस्थित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको केन्द्रीय कार्यालयमा मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक लगायतले महावीर पुनलाई हस्तान्तरण गरेका थिए।
सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्चका महासचिव धनराज सुब्बा फेदापे माइला, प्रान्तीय उपमहासचिव दिलु लिङदेन, प्रान्तीय अर्थसचिव राजेन्द्र निङलेकु लगायतको उपस्थिति रहेको संघीय लिम्बुवान सामाजिक मञ्च, युएईका महासचिव भूमी इधिङ्गो लिम्बू यम्भामीले बताइन्।
पवित्र मनले मुलुकको समृद्धिको अभियानमा लागेका पुनको अभियानमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यले संघीय लिम्बुवान सामाजिक मञ्च युएईले अभियानलाई समर्थन सहित आर्थिक सहयोग गरेको मञ्चका अध्यक्ष भिम अधिकारी थक्साङले बताए।
यस कार्यमा आर्थिक सहयोग गर्ने सबैलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईले धन्यवाद ज्ञापन गरेको छ।