९ असार २०८२, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लिएको छ।
सोमबार फालेलुङ गाउँपालिकाको ११ औं गाउँसभामा पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले पालिकाले लिएको नीति सभामा पेश गरे। सभाले सो निर्णय सर्वसम्मतले पारित गरेको छ। यसको उलङ्घन गर्ने जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पाईआएको सुबिधा कटौती गरिने बताइएको छ।
सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न र शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउदै सामुदायिक विद्यालयप्रति भरोसा बढाउन गाउँपालिकाले यस्तो नीति लिएको पालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए। यसलाई कडाइकासाथ लागु गरिने गाउँपालिकाका प्रवक्ता भरत खपाङ्गीको भनाई छ।
गाउँसभाबाट पारित गाउँपालिकाको शिक्षा ऐन अनुसार आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्नेछ। नीजि विद्यालयमा पढाउने जनप्रतिनिधि, कर्मचारी, शिक्षकको तलवभक्ता र अन्य सुबिधाबाट दश प्रतिशत काटेर पालिकाको आन्तरिक राजश्व खातामा जम्मा गरिनेछ उल्लेख छ।
गाउँसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५४ करोड ४१ लाख सात सय एक रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। एक करोड रुपैंयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य समेत पालिकाले लिएको छ।