– अप्सरा लावती
१७ साउन २०८२, काठमाडौं। हिउँद निख्रिदै गरेको जूनेली रात । सुनसान छ, वातावरण । फुङ्मती र पादकी जिन्दगीको अनेकौं कुण्ठाहरु बोकेर उराठ लाग्दो बस्तीमा किसानी जीवनलाई निरन्तरता दिँदै मेलापात र वनपाखामा भेटेको बेला लुकिछिपी प्रेमका बात गर्छन् । कसै–कसैको सम्झनामा चुर्लुम्मै डुबेर हृदयका उद्वेगहरु श्रृङ्गारिक शब्दशैलीमा चिट्ठीमा लेख्छन् र पठाउछन् ।
आकाशमा जून चहकिलो भएर टल्किरहेको थियो । बादलले जूनको प्रकाशलाई उत्ति छोपेको थिएन । टाँडमाथि सुत्न पसेका उनीहरुले खस्याक्खुसुक् बात गरे, “हाउ ! जुङ् हाउ बारीमा नल काट्नु, याहाँ त बात मार्नु नै पाइएना, तेरो बुबा–आमाले सुन्छन् र मार्छन् ह’ला ।” पादकीले साउती मार्दै फुङ्मतीको कानमा भनि ।
“हो त, जून पनि सारो राम्रो लागेको छ, बारीमा भए अलिक् राम्रो गफ गर्नु पाइन्छ, जुङ्, जुङ् ।” दुबैजना जराक्जुरुक् उठे, ओछ्यानबाट । वारिपारिका बस्तीहरुमा तारा जस्ता देखिने बत्तिका पिल्पिले ज्योतीहरु निभेका थिएनन् । काठको भर्याङमा चर्को आवाजमा गड्याङ्–गड्याङ् गर्दै मुनि ओर्लिए दुबैजना । यस कारण कि ! फुङ्मतीको आमा–बुबाले त्यो आवाज सुनेर सोधुन्, “काँ हिनेको तिमेरु ?” त्यतिबेला फुरुङ्ग भएर भन्न चाहन्थि फुङ्मती, “जून टहटह लागेको छ, नल काटनु हिनेको आमा ।”
भर्याङको चर्को आवाजले निदाउन लागेकी फुङ्मतीको आमा ब्युँझिन् । उनीहरुकै इच्छा मुताबिकको प्रश्न आयो, “हाइना हाउ ! हाल्ला गर्दै काँ हिनेको तिमी दुई, सुत्तौना ?”
फुङ्मतीले रोकिएर भनि, “आमा ! जून सारो राम्रो लागेको छ, नल काट्नु हिनेको ।” निदालमाथिबाट हँसिया निकाल्दै थपि, “हाम्रो मात्तै बारी बाझो छ, नल छिटो काटी सकेर बाँझो फुटाइहाल्नु पर्छ हामी पनि ।”
“कति बाँकी छाइना, दिनमा काट नै, जाडो ना जाडो छ, आइले सुत !” टाउको थोरै उचालेर फुङ्मतीको आमाले भनिन् ।
“हाइना झरी हाल्युङ्, अलिकति भा’पनि काटेर आउछुङ्”, घुम्लुङ्ग मजेत्रो काधमाथि हाल्दै भनि, “आब कुटुम्बाको घरमा त सासुले तिमीले जस्तो नगर भन्दैना होला ! आब यो खाले बानि पनि त गर्दैगर्नु पर्याे नि ! एकछिन गोयुङ् हइ आमा ।” फुङ्मती बाहिर निस्किदै बोलि ।
“उसो भा जून नडुब्दै आइहाल, तेरो भाई तेस्तै ह, एकभाई मात्तै भएर उसको बुद्धि ढिलो आउदैछ ।” सिरानी तानेर मिलाउदै ढल्किन् फुङ्मतीकी आमा ।
“मेम्बे ! सुतुङ् भनेको, केको गानथान हाउ ? काम गर्ने भा गइ हाल ।” फुङ्मतीको बुबा निन्द्रा बिग्रिएको झोँकमा कोल्टे फेर्दै चिढीयो ।
पादकी बाहिर निस्केर आँगनमा उभिरहेकी थिइ । फुङ्मतीले बाहिरबाट दैलो तानेर बन्द गरी । दुबैजना घुर्यानबारीमा ओर्लिए ।
“हाउ लु याँ’बाट काटुङ् ल !” फुङ्मतीले बारीको डिलमा उभिएर मेलो देखाउदै भनि, “यो गरा सक्युङ् भने त आमा सारो रमाउँछ ह’ला !’’ सर्याङ्–सर्याङ् गर्दै सुकेको कोदोको नल काट्न थालि फुङ्मतीले । पादकीले पनि हँसियाको बिँडमा थु .. थु .. गरेर थुकि । सजिलो गरी समाई । अनि भित्तातिर फर्केर नल काट्न थालि ।
नल काट्न रोकिएर फुङ्मतीले पादकीलाई सोधि, “अघि के पो सल्ला गर्नु छ भन्दै थियुङ् हाउ घरमा ?”
मुठी भरीको नल बारीको डिलनेर राख्दै पादकीले भनि, “आब म के गर्नु ह’ला है ? सारो दोधारमा परेको छु हाउ !” पादकीले गफको प्रशंग निकाली ।
“के गर्छेस् त मोरी ? आब तेत्रो लप परेको ।” प्रतिप्रश्न गरि फुङ्मतीले ।
“सुन् ना ! जाने नै निर्ने भएपछि त बुबा आमाको, भाई बैनीहरुको सारो माया लागेर आउँदो र’छ ।” लेग्रो तानेर पादकीले भनि ।
“जिन्दागी भरी त उसै पनि रुँगेर बस्दैनास् ह’ला त ? जाने नै भएपछि बिरत्त नमानि जाँ हाउ !” नल काटेको स¥याङ् स¥याङ् आवाजसँगै भनि फुङ्मतीले ।
पादकीले फुङ्मतीको कुरो सुनेर एकैछिन मौन रहदै नल काटिरही– सर्याङ् सर्याङ् … । फुङ्मती पनि चुपचाप नल काट्नमै तल्लीन रही ।
केहिबेरपछि फेरि पादकीले कुरो कोट्याई, “तँ मोरीलाई कत्रो सङ्गी ठानेर सल्ला मागेको, केइ भन्दैनास् त हाउ ?”
“अनि अस्तिको रिप्लाइमा हुन्छ भनेर पठाको छेस्, आब तेइ अन्सार गर ना, अरु त म के भन्नु र ?” फुङ्मतीले सल्लाह दिई ।
“तेइ त हाउ, श्रीपन्चमीको भाका छ हाइना ?” पादकीले सोधि ।
“ह त ! कि मनै थेना भने तैंले हुन्छ भनेर पत्रको जवाफ नपठौनु पथ्र्यो ।” मुठीको नल भुइँमा राख्दै भनि फुङ्मतीले, “मान्छेलाई धोका दिने काम त गर्नु हुदैना पो हाइ !”
“हाइना, त्यो त मैंले एकदिन भरी सोचेर जवाफ पठा’को ह ।” पादकीले आफ्नो निर्णय गलत नभएको स्पष्ट पार्न खोजि, “घरमा पनि सप्पै उमेर पुग्युङ् र सारो छ हाउ ।”
“उसो भए किना दोधार हुन्छौ त, गरी खानु जाने ह, पीर नमानी जाउ हाउ ।” फुङ्मतीले सल्लाह दिदै भनि ।
“लिनु आउछ त ह’ला नि, छरी मान्छेको जात कुटुम्बाको घर जाने जात भन्छन्, जेसाङ् जान्छु हाउ आब ।” नल काट्दै लेग्रो तानेर भनि ।
“तेसै त भन्नु ह’ला नि हाउ, फच्चा नगइ बस्दा पनि कन्ने बुढी आङ् कन्ने बुढी भनि बस्छन्, बाउमाइतीले हेलाहिमेत गर्नु थाल्छन्, आब गएर राम्रो गरेर खाउ ।” पछ्यौराको सप्को सपक्क पारेर काँधमाथि हाल्दै भनि फुङ्मतीले, “पढेको पनि छैनास्, पढेको भा पनि एकथोक हुन्थ्यो होला !”
बालखादेखिका सबै सम्झनाहरु यहीँ गाउँमा चटक्कै छोडेर जानुपर्ने कुराले बिरहमा डुबि पादकी । नल काट्न छाडेर फुङ्मतीको कुममा घोप्टो परेर सुक्सुकाउन थालि । भनि, “हाउ हामीधिक् दामाले नभा पनि सारो मिल्युङ् र ह’ला, तेरो सारो माया लागेर औँछ बे … !”
फुङ्मतीको पनि आँखा भरिएर आयो । रुन्चे स्वरमा सम्झाउदै भनि, “हाउ ! नरोउ ना, म यो गाउँमा हुन्जेल त तिमी माइती आउँदा भेट हुइन्छ नि, म पनि कुटुम्बाको घर गएपछि त तँ कहाँ, म कहाँ, यस्तै त र’छ छोरी मान्छेको जिन्दागी !”
आकाशमा जून टल्किरहेको थियो । चरा चुरुङ्गी, किरा फट्याङ्ग्रा सारा चुपचाप थिए । रात अत्यन्तै सन्नाटा भित्र गुज्रिरहेको थियो । बेलामौका भोटी कुकुर सासले नधानेझैं गरी हुँऽऽऽ हुहुहुऽऽऽ गर्दै घाँटिभित्रै दबेको स्वरमा आँगनको डिलबाट भुक्थी । नजिकै बारीको गरामा मलमुत्रको निम्ति बाँधिएका वस्तुहरु उग्राईरहेका थिए ।
“तँ मोरी पनि फच्चा गए पछि त हाम्रो यो खाले दिन कहिले आउदैना हला हइ ?”, पादकीले नलको डाँठ टोक्दै बिरह ओकली ।
“ह त, म पनि फच्चा गए पछि त तँ कहाँ, म कहाँ ? छोरी मान्छेको जिन्दागी, एनि लै लै, बिरह चलेर आउँछ बे ।” फुङ्मतीले थपि ।
“बिरहले थाम्दैना र’छ माइतीघरको माया, म पनि ज्यासाङ् पेवापैकारी गर्दै बसेको थिएँ, सप्पैले फच्चा जादैनास् मात्तै भन्छन्, माइतीको दुःख उतारी ल्या’को देख्तैनान् हाउ ।”, पादकीले दुखेसो पोखी ।
“तर म त जाँदिना भनेको, कुटुम्ब सुटुम्बको घर, तर भने जस्तो नहुने ह’ला !” कन्सिरीनेर कन्याउदै भनि, “हामी पनि हाम्रो दाजु माइतीले जस्तै भे गरेर आफ्नै बुबा–आमा, भाइ–बैनीसँग बस्नु पाउने हुनु नि हइ ?’’ फुङ्मतीले छोरी मान्छेको विवशतामाथि अरुची देखाउदै थपि, “उमेरै नपुगि कुटुम्बा कि कुटुम्बा भन्दै काम लगौनु थाल्छन्, कुटुम्बाको घर पठाउनु मात्तै हतार गर्नु थाल्छन् ।”
‘‘तँ त पढदैछेस्, भे नगरी मास्टारी जागिर खाँदै बस्ता पनि भइजान्छ नि, हामी पो ना पढ्नु पायुङ्, ना केइ जान्नु पायुङ्, तेसउस कारन हामी त भे गर्नु नै ठिक ह’ला नि आब ।” दुखेसो पोखि पादकीले ।
डिलबाट भित्तातिर फर्केर नल काट्न थाले दुबैले । फेरि भनि फुङ्मतीले, “तेइ त, चिट्ठी पत्र लेखालेख गरुङ् भने तँलाई लेख्नु नआउने, के गर्नु र ? आब सम्झौनी बिर्सौनी हामीले सँगसँगै मेलापात, दाउराघाँस गरेर बिताएको दिनहरु मात्र हइ ।”
“ल ल मोरी ! तेसै त हला नि आब ।” नल काट्न छाडेर पूर्वी आकाशतिर हेर्दै भनि पादकीले, “हाउ ! मेन्छ्या पुरुप्माहरु निकै तल पुगिसकेछन्, उज्यालो हुनु पो आँटेछ त हाउ !”
“सप्पै सम्झि ल्याउँदा बिरह चलेर आउछ नि हाउ ।” फुङ्मतीले पछ्यौराको फेराले नाक पुछ्दै भनि, “आब मेलो सिधा बनाइ राखेर घर जुङ् ना त ।”
‘‘कति पनि काट्युङ्ना, भोलि तुम्माले मेलो हेरेर करौ’छ ह’ला हाइ’’, पादकीले छिटोछिटो हात चलाउदै भनि, ‘‘यति त सकेर मात्तै जुङ् ह’ला हाउ !”
मुठी भरीको नल भुइँमा फ्यास्स राख्दै भनि फुङ्मतीले, “यति मेलो म आफै सक्छु भोलि, आजलाई भोयो ।” मजेत्रोको सप्को मिलाएर फ्रक टक्टकाउँदै भनि, “आमाले केइ भन्दैना, जुङ् आब ।”
“लु जुङ् हाउ उसो भा, भोलि भ्यानै खेतमा डल्ला फुटाउनु झर्नु छ ।” पादकीले मजेत्रो टाउकोबाट जिउमा ओढ्दै भनि, ”आछुछुछु ! जाडो पनि जादैना त हाउ यो साल ।”
“आब तिमी फाच्चा गए पछि तातो हुन्छ”, डिल उक्लिदै फुङ्मतीले छिल्लिएर भनि, “आब धेरै दिन छैना हइ ।”
‘‘नजिस्की हाइ मोरी’’ भन्दै पादकीले डिल उक्लिदै गरेकी फुङ्मतीलाई समाउन खोजि । फुङ्मती कुदेर आँगनमा पुगि । पादकीले पनि फुङ्मतीलाई पछ्याउदै एकै सासमा माथि पुगि ।
दुबै जना आँगनमा उभिएर कपडा टक्टकाए । पादकीले मजेत्रो बेस्सरी टक्टकाउँदै भनि, “हाउ ! कुरोले पथाङ् त सप्पै डल्लो पारेछ नि, म त इहीँ झुन्ड्याउछु हाइ ।”
“है’ना ! माथि नै लगेर कुपीमा टिपी पठौना, सिराकले मात्तै त जाडो अलिक थाम्दैना ह’ला, पथाङ् खप्ट्याएर ओढ्नु पर्छ ।” खाबोको काँटिमा झुन्ड्याई सकेको पछ्यौरा फुङ्मतीले निकालेर पादकीको हातमा दिँदै भनि, “मेरो पनि उस्तै त भ’को छ नि ।”
दुबैजना बिस्तारै दैलो उघारेर टाँडमाथि उक्लिए । फुङ्मतीको आमा–बुबा र भाइले निन्द्रा पु¥याउन लागेका थिए ।
पादकीले सानो स्वरमा सोधि, “हाउ ! साच्चै श्रीपन्चमी आउनु कति दिन पो बाँकी छ ?”
“आइसक्यो नि हाउ, आब आजको दिन छोडि नौ दिन बाँकी छ अरे ! एऽऽऽ नौ दिन पछि त तँ छोडेर जान्छेस् नि ?” लेग्रो तान्दै फुङ्मतीले भनि ।
“माथि देउराली डाँडासम्मन् पुर्याउनु हिन ल ! म बिष्ने दाजुलाई पनि भन्छु ।” फुङ्मतीको आँखामा हेर्दै भनि “भरै घर फर्किनुलाई डरौछेस् ह’ला नत्र !”
“फाच्चा जानुलाई पुर्याको था पाए भने मार्छन् ह’ला ! तर ज्यासाङ् जान्छु नि हाउ ।” फुङ्मतीले भनि ।
“मेन्छ्या पुरुप्माहरु धुरी माथि पुगेको बेला निस्किन्छु, तँ हाम्रो घर माथिको बासझ्याङ्नेर आएर पर्खि ल !” भुइँमा छरिएको कुरो हातले सोहोर्दै भनि, “लु आब सुतुङ् ह’ला, फाच्चा हिन्ने दिनको लागि सल्ला सकेको हइ हामीले ।” मजेत्रोले अनुहार ढाकेर पादकी कोल्टे परेर ओछ्यान माथि ढल्की ।
यसैबेला डाँडापट्टी मुलसडकबाट मुर्चुङ्गाको बिरही धुन आएर उनीहरुको कानमा थुरियो । पादकीले कान ठाडो पारेर मुर्चुङ्गाको धुन सुन्न थालि । सोचि, “तीनताले कान्छी एतिबेलासम्म घर नपुगि रै’छ ।”
फुङ्मतीले भने मजेत्रोको एकछेउ समाएर कानमा टाँसी । ऊ आफ्नो निन्द्रालाई मुर्चुङ्गाको धुनले नबिथोलिओस् भन्ने चाहन्थी ।
तीनताले कान्छी पोहोर साल देखि माइत घरमा आएर बसेकी । उसको श्रीमानले गाउँले भाउजुलाई लिएर सिक्किम भाग्यो रे । घरमा श्रीमान नभएपछि जेठानी, देवरानीले बसिनसक्नु बनाएर माइत फर्कि आएकी । माइतमा पनि उसका दिनहरु हलुङ्गो त कहाँ छन् र ? भाउजु चाहीँको अर्घेलो खखिनसक्नु छ । तर अब त्यहाँबाट निस्केर जाने अन्त कहाँ ?
पादकी सडकतर्फ कोल्टे फर्कि । फुङ्मती निदाइसकिछे । गहिरो निन्द्राको स्वाँ .. स्वाँ … आवाज आउन थाल्यो । मुर्चुङ्गाको बिरही धुन भने अनवरत बजिरहेको थियोः
उडीमा जाउँ मै पन्छी होइन, बस्नलाई मन छैन
लै लै बस्नलाई मन छैन
यहीँ गीतको भाकामा मुर्चुङ्गाको धुन गुञ्ज्रिहेको थियो । दस मिनेट जति बज्यो मुर्चुङ्गा । उदास, उदास धुनहरुमा र बिस्तारै मन्द मन्द हुँदै बज्न छोड्यो ।
तीनताले कान्छी परालको भारी बोकेर उकालो लागि ।
… … …
फागुन महिना उधुमै ठण्डी नभए पनि घाम पश्चिमतिर सर्दै गएपछि जाडो महसुस हुन्छ । तै पनि पादकी गाग्रो बोकेर नुहाउनलाई ढुङ्गे धारातर्फ लागि । आज श्रीपन्चमीको दिन । बिहानै पौडेल बाले हातले बनाएको नागको चित्र ल्याएर दैलोमाथि गोबरले टाँसिदिएर गएका थिए ।
निकै समय खर्चेर रिठ्ठाको बोक्राले कपाल नुहाई पादकीले । हल्यान आलु उसिन्दा उप्केका बोक्राहरुझैं फुटेका कुर्कुच्चाहरु पानीमा ढाडिएर भुक्क फुलेर आयो । पछाडी फर्केर हेरि । सोचि, “यो खुट्टा पनि कति फुटेको ह’ला ? सरमै लाग्ने गरि ।”
भुइँमा लमतन्न तेर्सिएको ठूलो ढुङ्गामाथि ओर्काइफर्काइ कुर्कुच्चा घोटी । भित्ताको गारोमा अडिएको एउटा ढुङ्गामाथि (गाउँकाले मन्जने ढुङ्गा भन्थे, जुन ढुङ्गामा ढुङ्गा नै टुक्टुकाएर बनाएको मसिना कणहरुले दाँत माझ्ने चलन थियो) मसिना कण बनाउन सकिने खालको फुस्फुसे ढुङ्गा खोजेर टुक्टुकाइ र चोर औँलाले दाबेर सोहोरी दाँत माझि । अनि पानी बोकेर घर फर्कि ।
मनमनै उत्साहित थिई । प्रेम गरेको सोल्टीको जीवनभरी साथ पाउने कल्पनाले । एकातर्फ त्रसित पनि थिई कि ! भागेर जाँदै गर्दा आमाले च्याप्पै समाएर काँ हिनेको भनेर सोध्यो भने के भन्ने होला भनेर । छिटोछिटो भात खाएर पादकी टाँडमाथि उक्लिहाली । माइलीलाई भनि, “न्वाएर आ’को, टाउको सारो दुख्यो, माइली ! आजु भाडा एक्लै मस्का हइ ।”
पादकी टाँडमाथि उक्लिएर एकछिन विचारशून्य भएर ओछ्यानको छेउमा बसि । माइलीले भाँडा मस्काइ सकेर लिस्नो मुनि ओछ्यान लगाई । भोटी कुकुर हुऽऽहुऽऽ गर्दै भुकेको आवाज फुङ्मतीको घरबाट आइरहेको थियो । सायद एक डल्लो भात खान पाइ होलि ।
बसेकै ठाँउबाट झ्यालतर्फ हेर्दै सोचि, “कति बजेको ह’ला ? सधैँ त फुङ्मतीको घरमा रेड्यो बजाउथे र बेला–बेला समय भनेको सुनिथ्यो, आज त दिउँसोभरी पनि बजेको सुनिएना, बेटरी सकेको ह कि !” ओछ्यानबाट उठि र झ्यालबाट आकाशतर्फ हेरिपठाई । “एऽऽऽ मेन्छ्या पुरुप्माहरु तिहीँ मत्तै पुग्दै रछन्, बेला भई ग’को रै’नछ, आब चेन् अलिलिक् बन्निनु पर्याे हाउ”, सम्झेर झोलाबाट नङ्पालिस झिकी । दुई वर्ष अगाडी युवामेला जाँदा किनेको नङ्पालिस थिग्री सकेको रहेछ । चोर औँला र बुढी औँलाले च्यापेर बेस्सरी हल्लाइ र हात खुट्टाका नङ्हरुमा थेग्रा–थेग्रा हुने गरी दलि । नङ्पालिस दलेको हातलाई झ्यालको मुखमा बसेर घरि हावामा हल्लाउदै, घरि फु .. फु .. श्वासले फुक्दै छिटो ओभानो पार्ने प्रयास गरी ।
नङ्पालिस अलि सुक्यो । पादकीलाई आज भरपुर श्रृङ्गारिनु छ । त्यसैले अगाडीको कपाल निधारमाथि पातलो झारेर चुलेसीको धारले रगटी रगटी काटी र बट्टे ऐना झिकेर आफूलाई नियाली । मुसुक्क मुस्कुराई । मनमनै भनि, “यतिको त सुहा’कै ह, आब भारी मिलाएर कापडा फेर्छु ।” सम्झदै आफ्नो लाग्ने सामानहरु झोलामा कोचेर हालि । नङ्पालिस र बट्टे ऐना पनि छुट्ला कि भनेर हतारिदै झोलाको एककुनामा खाँदि । कुपी मधुरो प्रकाश बोकेर भ्याएसम्म उज्यालो छर्दै धिप्धिपाइरहेको थियो । लगभग अब ऊ तयार भइसकेकी थिई ।
तला मुनि बुबा आमा निदाए, ननिदाएको बिचार्न कान थापेर सुनि । उसकी आमा फुस्फुसाउँदै बोलिरहेकी थिइ, बुबासँग ।
“के गफ गरेको हला, कतिबेला निदाउने हो आजु ?” सोचेर ओछ्यानमाथि उतानो पल्टि । फेरि सोचि, “सल्टी आघि आएर बसेको ह’ला, फुङ्मती र बिष्ने दाजु भालुबाँसको झ्याङ मुनि डराइसके होलान् !”
उठेर पुनः झ्यालतर्फ गएर आधा टाउको बाहिर निकालेर आकाशतिर हेरि । “अब त दस बजिसक्यो ह’ला, हेर मेन्छ्या पुरुप्माहरु निकै माथि पुगिसकेछन् । उफ ! कस्तो दिन हाउ मेरो त ?” निस्सासिन लागि उनी ।
“आजको यो निर्णयले मेरो भविष्ये कस्तो बनाइ दिने ह कोनि ?” सोच्दै सिलिङ् माथि ठोकिएर नाँचिरहेको बत्तिको मधुरो रोशनी हेर्दै ओछ्यानमाथि बसि । केहिबेर पछि अब त सुते कि बुबा आमा भनेर फेरि तलामुनि ध्यान दिएर सुनि । बुबा घुरेको आवाज आयो । मनमनै भनि, “आब चाइ सुतेछन्, निस्किनु त ह’ला नि !” झोलाको उझिण्डो तालुमा अड्याएर ढाडमा बोकि ।
उसको मुटु थर्र … काप्न लाग्यो । अघिसम्म बुबा आमा ननिदाएको बहानामा आफुलाई रोकेर बसेकी थिइ । तर अब रोकिनलाई ऊसँग गतिलो बहाना थिएन । हातगोडा लुला भए जस्तो लाग्यो । थुचुक्क ओछ्यानमाथि बसि । घुँडा जोडले काप्न थाल्यो । दुबै हातले बेस्सरी थिचेर नियन्त्रण गर्न खोजि । आँखा चिम्लेर सोचि, ‘‘हैना ! जे सुकै ह’स, म निस्किन्छु आब ।’’ जुरुक्क उठि र झोला टिपेर डडालोमा बोकि । झ्याप्प कुपि निभाई । अनि सास मारेर बिरालोको चालमा तल ओर्लि । ओहो, लिस्नोको फेदमा सुतेका माइलीहरु पो ब्यँुझने हुन् कि ? बडो होसियारले लुङ्गी समेट्दै मुनि झरी ।
एकैछिन रोकिएर बुबा आमा सुतेको तर्फ हेरी । अगेनामा बलेको अगुल्टोको रातो राप आमाको ख्याउटो अनुहारमा टल्किरहेको थियो । गडेर हेरी, आमाको अनुहारको डाँडी हाड छाला मात्र भएर माथि उठेका थिए । तर्र … आँसु बग्यो । मनमनै भनि, “आम्मा ! जाड कम गर्नु, बरु किनिमाको झोलसँग भातमै बल गर्नु, म ज्वाइँ लिएर छिट्टै आउँछु हइ !”
बुबा हलचल गर्याे। सास रोकेर उभि । फेरि बुबा कोल्टे फर्केर घुर्न लाग्यो । दैलो बिस्तारै खोलेर बाहिर निस्की । सास रोकेर सुस्तरी दैलो तानेर सरासर बाँस झ्याङ्तर्फ कुदी । फुङ्मती र बिष्ने पादकी ढिलो आई भनेर रिसले मुर्रमुरिदै बास झ्याङ्भित्र छलिएर बसेका थिए । नजिक पुगेर फुङ्मतीलाई साउती मार्दै भनि, “बुबा–आमा नसुतेर निस्किनु ढिलो भोयो, आब ज्यासाङ् म हिने हाइ ।”
‘‘लु जुङ् छिटो, घरमा ढाँटेर आ’को, फाच्चा पु¥याको था’ पाए भने मार्छन् होला आज’’, फुङ्मतीले पादकीको झोला तान्दै भनि, “खै म बोकिदिन्छु माथिसम्मन् ।”
‘‘आनि के भनेर ढाँटिस् हाउ ?’’ फुङ्मतीलाई झोला दिदै सोधि पादकीले ।
‘‘सुत्नु जान्छु भनेर आ’को नि, अरु के उपाया छ र ?’’ फुङ्मतीले उकालो बाटो लाग्दै भनि ।
पादकी अगाडी–अगाडी, फुङ्मती बिचमा र बिष्ने पछि–पछि लागे । जूनको साहारामा उकालै, उकालो चढ्दै जाँदा पैंतालिस मिनेटमा देउरालीे डाँडा पुगे । बाटो छेउछाउका घरकाले सुन्लान् नि भन्ने आशंकाले एकअर्का बिच कुनै संवाद गरेनन् । बस हिंडिरहे … कर्याङ्कुरुङ उकालो, अँध्यारो र निष्तब्धताभित्र कालो छाँया बनेर ।
सोल्टी र पादकीले पत्राचार गर्न थालेपछि केही पटक चतुरे हाटमा भेटेका थिए । मनका भावनाहरु व्यक्त गर्ने माहोलको खोजीमा चतुरे डाँडादेखि परको देउराली डाँडा पुगेर गफ गर्दै बस्थे केहीबेर र छुटिन्थे ।
अस्ति गएको मंसिर महिनामा बालाचतुरेमा भेट भएर रातभरी धान नाचे । स्याउले होटलमा (स्याउलाले बारिएको) पसेर याङ्बेन र सेले (रोटी) खाए । गफैगफमा पादकी हाँस्दा पेट्रोल मेक्सको उज्यालोमा उसको निलो र तल झरेको अगाडीको दात देखेर सोध्यो सोल्टीले, “सल्टेनीको दाँत आस्ति त यस्तो थेना त ? उखेलिनु पो लाग्यो कि के ह ?”
हत्केलाले मुख छोपेर खित्काउदै भनि, “हाइना, अस्तिदेखिन् यस्तै ह हइ ।” पादकी सर्मले डल्लो परि । यी क्षणहरुलाई पादकीले उत्सुकताकासाथ सम्झदै जाँदा देउराली डाँडासम्म पुगेको पत्तो नै पाइन् ।
चतुरे डाँडामा पुग्दै गर्दा पादकीले मधुरो स्वरमा भनि, “ऊ त्यो ढुङ्गामा आएर बस्छु भन्ने लेखेको थियो हाइना फुङ्मती ?” धुम्म परेको ढुङ्गा चोर औँलाले औल्याउदै सोधि ।
देउराली डाँडाको छेउमा धुम्म परेर बसिरहेको बिषाल ढुङ्गालाई नियाल्दै भनि फुङ्मतीले, “ह ह तेइ ढुङ्गाको कुरा लेखेको थियो, जुङ् जुङ् उतै, तिहीँ लुकेर पर्खिबसेको छ ह’ला !”
सबैजना फटाफट उतैतिर लागे । तेर्सो बाटोमा फटाफट हिँड्दा चप्पलले कुर्कुच्चा हिर्काएको फट्याक् फट्याक् तिखो आवाजले रातको सन्नाटालाई बिथोल्यो । बिष्नेले सजक गराउदै भन्यो, “अलिक् बिस्तारी हिन् ना, ऊ परको घरमा त मान्छे बस्छन् पो हाइ ।”
“आँऽऽ आँऽऽ बिस्तारै हिनुङ् हइ, हाम्लाइ पो मार्छन् ह’ला ।” फुङ्मतीले थपि ।
ढुङ्गाको नजिक पुगे । एउटा गतिलो घर जत्रो आकारमा बसिरहेको ढुङ्गालाई हेर्दा लाग्दथ्यो, कसैले उचाली ल्याएर थपक्क राखेर छोडेका हुन् ।
उनीहरु त्यहाँ पुग्दा फाक्तेपे कान्छा एक जना साथीसँग आएर बसिरहेको रहेछ । उनीहरुलाई देखेर पादकीको अनुहार उज्यालो भएर आयो र दुबै हात जोड्दै भनि, “सेवारो सल्टी !”
‘‘आब के को सोल्टी हाउ ? हाइना आम्भुद्रे ?’’ फुङ्मतीले फाक्तेपे कान्छा र पादकीको अनुहारमा एकसाथ हेर्दै जिस्काई ।
“कोनि त हाउ, तेसो त तेसै हला हाउ आब त”, भन्दै फाक्तेपे कान्छा लजाउदै हाँस्यो । बिष्ने दाजु पाँच मिटर जति टाढा उभिएर उनीहरुलाई पर्खिरहेको थियो ।
“लु आबो राम्रो गरी खानु हाइ आम्भुद्रे ! जे भा पनि हाम्रो नेन्नेलाई हेलाहिमेत चाइ गर्नु पाइन्दैना, लु धेरबेर आलमल नगरुङ्, हामी जान्छुङ् ल ।” पादकीतर्फ बढेर फुङ्मतीले बिदाईको हात मिलाई । पादकी थर्रर काप्दै रुन लागि । फुङ्मतीको पनि आँखा रसायो । बिष्ने अलि अगाडी आएर बोल्यो, “लु कुङ्बा ! हाम्रो छरीचेली तपैं’को जिम्मा हाइ आजुबाट ।”
“हुन्छ नि कुङ्बा !” फाक्तेपे कान्छाले हात जोडदै भन्यो, “पीर चिन्ता नलिनुहस् ना तपैं’हरु !”
“लु जुङ् फुङ्मती” भन्दै बिष्ने अघि आएको बाटो तर्फ मोडियो । फुङ्मतीको गला अवरुद्ध भएर आयो । केही भन्न सकिन । बिष्नेको पछि पछि लागेर घर फर्कि ।
पादकी देउरालीको टुप्पोमा पछ्यौरीको फेरो टोक्दै सुक्सुकाउदै फुङ्मती र बिष्नेलाई हेरेर उभिरही ।
दुई सहेलीहरु छुटे । ०