Advertisement Ad

Advertisement Ad

राज माङलाकको कविता– कोट

– राज माङलाक

अंग्रेजी डिक्सनरीबाट
फुत्त ओर्लिएर सरासर मेरो देशमा
प्रवेश गरेपछि
यात्रा सुरु गरेको हो, कोटले

प्रत्येक कार्यालयको भित्तामा
बटारिएको जुँगाको ताउसँग ठाँट्टिएर
कोटले आफ्नो आधार इलाका तयार ग¥यो
र, ढाडमा टेकेर टाउकोमा हान्ने गुप्ति योजना बनायो

सबैभन्दा पहिले
दरबार प्रवेश ग¥यो यसले
राजा, महाराजाको शरीरमा
मान, प्रतिष्ठा र इज्जतको सिँढी हुँदै चढ्यो
र, गद्दीबाट आफ्ना रैतिमाथि शासनको सुरुवात ग¥यो

त्यसपछि
कोतपर्वको उत्सव मनाउँदै
जनताको भविष्यको शीर काटेर
यहीँ कोट एकसय चार वर्ष राणाहरुले पहिरिए
र, अन्धकारभित्र तर्साउँदै बसे

पञ्चायतका अगुवाहरुले पनि त्यो कोट लगाए
र, तीस वर्ष देशको घाँटीमा अठ्याएर
आफ्ना जनताजनार्दनका श्वासप्रश्वासको मुलबाटो छेकिदिए

अरु भन्दा के कम भनेर
बहुदल जन्मिएको पहिलो डाकदेखि नै
मन्त्री, सांसद र नेताले यहीँ कोट पहिरिए
र, मतपत्र गोजीमा बोकेर हिँड्ने ती
आफ्नै निर्दोष मतदातामाथि शासन चलाए

यसैगरी
अफिसरहरुले लगाए यो कोट
र, आफ्ना निमुखा सेवाग्राहीसँग कुरुप अनुहार देखाए

मालिकले लगाए त्यो कोट
र आफ्नै घरको नोकरचाकरको हुर्मत लिए

मुखियाले लगाए
जमिनदारले लगाए
र, सोझा गाँउलेमाथि गर्जिए

यसरी प्रत्येकले यहीँ कोट पहिरिएर
एकसे एक शासन गरे

इतिहासको उपहास हुने गरी
बिस्तारै यसले आफ्नो साम्राज्य फिजाउँदै लग्यो

हिजोआज
त्यो पुरानो कोट
लोकतन्त्र, गणतन्त्रका नाममा चिटिक्क परेर
स्थानीय सरकार प्रमुखका कुर्सीमा
गजक्क भएर बसेको छ
र, उसले आफ्ना अवोध नागरिकमाथि
निर्मम शासन गरिरहेको छ ।०