१२ भदौ २०८२, पाँचथर। प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पाँचथरका पत्रकारहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका छन्।
प्रदेशसभामा दर्ता भई अघि बढाइएको विधेयकबाट प्रेस स्वतन्त्रता बिरोधी प्रावधान खारेज गरिनुपर्ने माग सहित पत्रकारहरुले धर्ना दिएका हुन्। प्रदेश समितिले जारी गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिइएको नेपाल पत्रकार महासंघ, पाँचथरका अध्यक्ष भिम कुमार बाँस्कोटाले बताए।
प्रदेश सभामा आम सञ्चार विधेयक पेश भए लगत्तै त्यसबारे वहस र बिरोध सुरु भएको हो। विधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित पार्ने र नियन्त्रण गर्ने प्रावधान राखिएको भन्दै विधेयकबाट त्यसलाई हटाइनुपर्ने माग सहित पत्रकारहरु आन्दोलित बनेका हुन्।
बिहीबार प्रदेशका १४ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय अघि शान्तिपूर्ण रुपमा धर्ना दिइएको नेपाल पत्रकार महासंघको प्रदेश समितिले जनाएको छ।
