Advertisement Ad

Advertisement Ad

योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

१८ भदौ २०८२, इलाम। पत्रकार राम योङहाङ राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट सम्पादक योङहाङ पुरस्कृत भएका हुन्।

बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा योङहाङलाई फोनिजका संघीय उपाध्यक्ष विश्वराज तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, फोजिज १ नं.प्रदेश समिति अध्यक्ष विजयबोध लाओती लगायतले दोसल्ला ओढाई सम्मानपत्र र नगद चेक हस्तान्तरण गरे।

इलामको माङसेबुङ गाउँपालिका–३ निवासी योङहाङ विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। उनले पत्रकारिताको माध्यमबाट सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विषय एवम् आदिवासी जनजातिको मुद्धामा सक्रिय रुपमा कलम चलाउँदै आएका छन्। २०६४ सालमा स्थानीय रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील योङहाङ तीन वषर्देखि राष्ट्रिय समाचार समिति (रासस) र १४ वर्षदेखि सौर्य राष्ट्रिय दैनिकका इलाम समाचारदाताको रुपमा कार्यरत छन्। योङहाङ इलामबाट सञ्चालित अनलाइन सञ्चार माध्यम नयाँबुलन्द डटकमका सञ्चालक तथा सम्पादक हुन्।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै योङहाङलाई सो पुरस्कार प्रदान गरिएको फोनिज इलाम अध्यक्ष याम माबोहाङले बताए। ‘पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक÷लोपोन्मुख आदिवासी जनवातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सिप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, आलेख, वहस÷पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गर्ने कार्यविधि बनाएका छौं,’ अध्यक्ष माबोहाङले भने, ‘सोही कार्यविधि बमोजिम यस पटक हामीले योङहाङलाई पुरस्कृत गरेका हौं।’

फोनिज इलामले चार वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडा गरी पुरस्कार स्थापना गरेको थियो। सो कोषको ब्याजबाट आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष फोनिजको स्थापना दिवसको दिन (साउन २७ गते) पुरस्कार वितरण गर्ने गरिएको भएपनि यस वर्ष विशेष कारण कार्यक्रम पछि धकेलिएको अध्यक्ष माबोहाङले बताए।

यसअघि सो पुरस्कारबाट पत्रकार सटेन्द्र जवेगू, ज्ञानु केदेम र सुजता सुनुवार पुरस्कृत भइसकेका छन्।