नारायण तुम्बापो
१ पुष २०८२, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा लामो समयदेखि सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ।
खेल मैदानको स्तरोन्नतिको काम जारी रहेकाले यस वर्ष प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक संस्था फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभएको छ। विभिन्न कारणले करिब ६ वर्षसम्म स्थगित रहेको प्रतियोगिता गत वर्षदेखि ११औँ संस्करणका रूपमा पुनः सञ्चालनमा आएको थियो। तर यस वर्ष फेरि प्रतियोगिता स्थगित गर्नुपर्ने अवस्था आएको अध्यक्ष थापा मगरले बताउनुभयो।
संघीय सरकारको आर्थिक सहयोगमा फिदिम खेल मैदानको स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेको छ। तारजाली समेत जडान गर्ने गरि पश्चिमतर्फ पर्खाल निर्माण कार्य भइरहेको छ। सोही क्षेत्रमा प्याराफिट समेत निर्माण गरिने जनाइएको छ। साथै मैदानलाई थप खेलाडीमैत्री बनाउन दुबो रोपणको काम समेत गरिने अध्यक्ष थापा मगरले जानकारी दिनुभयो।
उल्लेखित निर्माण कार्य सम्पन्न गर्न जेठ–असारसम्मको समयतालिका रहेकाले यस वर्षको फाल्गुनन्द गोल्डकप प्रतियोगिता प्रभावित भएको हो। आगामी वर्षको हिउँद यामदेखि १२औँ संस्करणका रूपमा प्रतियोगिताले निरन्तरता पाउने अध्यक्ष थापा मगरले विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय विभूति, किरात धर्मगुरु महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको हो। स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हुने यो प्रतियोगिता पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ।
फिदिममा प्रतियोगिता सञ्चालन हुँदा स्थानीय धार्मिक, सांस्कृतिक तथा व्यापारिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने गरेको छ।
