Advertisement Ad

Advertisement Ad

रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने

१ पुष २०८२, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–८ मा तमु ल्होछारको अवसरमा दोस्रो तमु ल्होछार मैत्री कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएकाे छ । प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लब तथा तमु ल्होछार समारोह समिति को संयुक्त आयोजनामा हुने भएको छ। यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ।

आयोजक समितिका अध्यक्ष जीवन गुरुङ का अनुसार, तमु समुदायको मौलिक पर्व तमु ल्होछारलाई खेलकुद र संस्कृतिसँग जोड्दै स्थानीय तथा बाह्य खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले यस प्रतियोगिताले युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।

खेल संयोजक झलक गुरुङ का अनुसार प्रतियोगितामा सहभागी टोलीहरूको लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पुरुष फुटबलतर्फ विजेता टोलीले रु. ६०,११० र उपविजेता टोलीले रु. ३०,१०५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला फुटबलतर्फ प्रथम हुने टोलीले रु. २१,१११ र दोस्रो हुने टोलीले रु. ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताका क्रममा बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट प्लेयर तथा सर्वाधिक गोलकर्ता जस्ता विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

तमु ल्होछारको मुख्य दिन पुस १५ गते फुटबल प्रतियोगिताको फाइनल खेलसँगै नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। नृत्य प्रतियोगितातर्फ प्रथम हुनेले रु. १०,१५० र दोस्रो हुनेले रु. ५,०७५ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

आयोजक समितिका सचिव भविन गुरुङ का अनुसार फुटबल प्रतियोगिता पुस १० गते सुरु भई पुस १५ गते फाइनल खेल आयोजना हुनेछ। प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लबको खेलमैदान, फिदिम–८, पाँचथर मा सञ्चालन हुनेछ।

प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका खेलप्रेमी दर्शकलाई प्रतियोगिता अवलोकन र सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि आयोजकले आमन्त्रण गरेका छन ।