३० कात्तिक २०८१, पाँचथर। आधा दशकभन्दा लामो समयपछि हुन लागेको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको प्रबर्दनका लागि शनिबार पत्रकार र कार्यालय प्रमुखबीच मैत्रीपूर्ण फुटवल हुने भएको छ।
शनिबार दिउँसो तीन बजेदेखि फाल्गुनन्द गोल्डपको ११औं संस्करण सञ्चालन हुने फिदिम माविको खेलमैदानमा मैत्रीपूर्ण फुटवल हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए। गोल्डकपको ११औं संस्करण यहीँ पुस छ गतेदेखि १५ गतेसम्म सञ्चालन हुँदैछ।
जिल्लाकै जेठो र ऐतिहासिक विरासत बोकेको फाल्गुनन्द गोल्डकप २०७५ यता हुन सकेको थिएन। फिदिम माविको खेलमैदान पुनर्निर्माण र कोरोना महामारीका कारण दशौं संस्करणपछि रोकिएको प्रतियोगिता छ बर्षपछि हुन लागेको हो।
त्यतिबेला पाँचथरको शान र प्रतिष्ठाको रुपमा लिइएको फाल्गुनन्द गोल्डकपको विरासतलाई कायम राख्दै थप लोकप्रियताको उचाई बढाउने गरी प्रतियोगिताको तयारी गरिरहेको फिदिम स्पोर्टिङ क्लवले जनाएको छ।
प्रतियोगिताको ११औं संस्करणमा ‘ए’ डिविजन र मोफसलका क्लव त्यस्तै अन्तराष्ट्रिय टोलीलाई समेत सहभागि गराइने बताइएको छ।