Advertisement Ad

पुनम चेम्जोङको फुटवल यात्राः धुले मैदानदेखि अन्तरराष्ट्रिय स्टेडियमसम्म

Advertisement Ad

सन्देश सुब्बा

३ मंसिर २०८१, पाँचथर। १७ बर्षीया किसोरी पुनम चेम्जोङ, राष्ट्रिय महिला फुटवलमा पाँचथरबाट प्रतिनिधित्व गर्ने एक्लो सदस्य हुन् । उनले उमेर समूहका चार प्रतियोगिता खेलिसकेकी छिन् । उनै पुनम देशको जर्सी लगाएर अन्तरराष्ट्रिय फुटवल खेल्ने पाँचथरकी पहिलो महिला फुटवलर भएको पाँचथरका फुटवल प्रशिक्षक पासाङ तामाङले बताए ।

सन् २०२२ नोभेम्बरमा बंगलादेशमा भएको यू–१५ साफ च्याम्पियनसिप नेपालले जित्दा पुनम टोलीको एक महत्वपूर्ण सदस्य थिइन् । उमेर समूहमा राष्ट्रिय टोलीका लागि डेब्यू प्रतियोगितामै देशलाई ऐतिहासिक उपाधि दिलाउन पुनमले योगदान गरिन् । त्यसअघि उमेर समूहमा सन् २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजन प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । पुनम सम्मिलित टोलीको त्यो उपाधि उमेर समूहमा नेपाली महिला टोलीको दोस्रो उपाधि थियो, र यू–१५ साफमा पहिलो ।

नेपालको सिनियर महिला टोली अहिलेसम्म पनि उपाधिबिहीन छ । यू–१५ टोलीले दिलाएको त्यो उपाधि नेपालका लागि सान्तवना बनेको थियो । त्यो जीतको हकदार आफू पनि हुन पाउँदा धेरै खुसी लागेको पुनमले सुनाइन् । बीएसएसएसएमके रंगाशालामा घरेलु टोली बंगलादेश विरुद्धको फाइनल खेलमा अन्तिम ह्वीसेलपछि विजयको खुसी मनाउदाको त्यो क्षण सम्झिदा पुनम आज पनि रोमाञ्चित हुन्छिन् ।

त्यसपछि पुनमले सन् २०२३ मा बंगलादेशमै भएको यू–१७ साफ, सोही बर्ष जोर्डनमा भएको यू–१७ एएफसी कप र सन् २०२४ मा बंगलादेशमा भएको यू–१९ साफ च्याम्पियनसिपमा पनि नेपालका लागि खेलिन् । मिडफिल्डमा खेल्ने उनी रहेक खेलमा आफूले सक्दो मिहेनत गर्दै आएको बताउछिन् । जारी एन्फा वुमेन्स लिग संकटा क्लवबाट खेलेकी उनी जहाँसम्म पुगिन्छ, निरन्तर मिहेनत गर्दै जाने बताउछिन् । ‘धेरै मिहेनत गर्नुछ, जहाँसम्म पुग्छु, त्यसैमा सन्तुष्ट हुन्छु’ उनले सुनाइन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा जन्मेकी पुनमले आठ बर्षको उमेरदेखि नै फुटवल खेल्न थालेकी हुन् । गाउँको धुले मैदानमा झुम्राको गोल खाली खुट्टा खेलेर उनले आफ्नो फुटवल यात्रा प्रारम्भ गरेकी थिइन् । ‘गाउँमा दिदीबहिनीहरुसँग मिलेर भाले गेम, स–साना प्रतियोगिता खेल्ने क्रममा गाउँका अग्रज र घरपरिवारबाट मेरो खेलको तारिफ हुन थाल्यो’ पुनम आफ्नो विगत सम्झिदै भन्छिन् ‘त्यसपछि भने व्यवसायिक रुपमै फुटवल खेल्ने सोच भयो र अहिले यहाँसम्म पुगेको छु, अझै अघि बढ्ने कोसिसमा छु ।’

हालः काठमाडौंको चक्रपथ बस्दै आएकी पुनम धुम्बाराहीस्थित इन्साइट भिजन स्कुलमा कक्षा–१२ मा अध्ययनरत छिन् । यू–१७ एएफसी कपको तयारीका लागि क्लोज क्याम्पमा बस्नु पर्दा कक्षा–११ को फाइनल परिक्षा समेत छुटाएकी उनी आगामी दिनमा खेलसँगै पढाइलाई पनि एकसाथ अघि बढाउने बताउछिन् ।

गाउँमा स्कुल र घरको कामबाट बचेको समय मात्र फुटवल खेल्न पाइन्थ्यो । गाउँमै हुर्केकी पुनमको फुटवल मोह अचम्मकै थियो । उनी सुनाउँछिन्, ‘बिना प्रशिक्षक गाउँका दाजुभाईहरुसँग मिलेर ट्रेनिङ् गथ्र्यौं । फुटवल खेल्नको लागि पानीझरी, भोको पेट, फाटेको जुत्ता, जर्सी केहीले पनि रोकेन । कोही नहुँदा एक्लै भए पनि आँगनमा फुटवल खेलाइरहन्थें ।’

प्रगतिको पथमा लम्किदै गरेकी पुनमलाई सुम्हात्लुङ टाइम्सको तर्फबाट थप सफलताको शुभकामना ।