२७ मंसिर २०८०, पाँचथर। द भ्वाइस अफ् नेपाल सिजन–५ को लाइभ राउण्डमा पुगेका पाँचथरे गायक नोगेन लिम्बू हाङसरुम्बालाई जिताउन पाँचथरे संगीत तथा कलाकर्मीले अभियान सुरु गरेका छन्।
फिदिमस्थित न्यू बरदान संगीतालयका निर्देशक बुद्धराज लिम्बू संयोजक तथा बिमला हाङसरुम्बा र सागर केरुङ सह–संयोजक रहेको एक टोली नै बनाएर अभियान सुरु गरिएको बताइएको हो। नोगेनलाई धेरै भन्दा धेरै भोट दिलाउन पोष्टर, पम्प्लेट प्रकाशन गरी प्रचार–प्रसार गरिने साथै अन्य विभिन्न कार्यक्रम गरिने संयोजक लिम्बूले बताए।
अभियान अन्तर्गत शुक्रबार दिउँसो न्यू बरदान संगीतालयसँगै सुरमाला कला केन्द्र, फ्यूजन डान्स एकेडेमी र मोसन डान्स एकेडेमीका विद्यार्थी र प्रतिनिधि सहित नोगेनका लागि भोट माग्दै फिदिम बजार परिक्रमा गरिने सह–संयोजक केरुङले बताए।
पाँचथर फिदिमबासी नोगेन टिम प्रमोदबाट जारी द भ्वाइस अफ् नेपाल सिजन–५ को लाइभ राउण्डमा पुगेका हुन्। उनले विभिन्न माध्यमबाट आफूलाई भोट गर्न आग्रह गरेका छन्।
