Advertisement Ad

रक्सी नपिएको साँझ

Advertisement Ad

– सुन्दर कुरुप

प्रियजनहरुको झुण्डबाट
सुटुक्कै
अलग्गिएर
चुपचाप चुपचाप
बेलैमा घर फिकिएँ

मेरो २००० मोडेलको
खटेरा
होन्डा मोटरसाइकलको आवाज सुनेर
सानो छोरो तोते बोली बोल्दैबोल्दै
मलाई लिन गल्लीसम्मै आयो
बर्षौंपछि मात्र भेटे जस्तो
स्नेहको हजारौं ओठहरु ब्युँझाएर
एकपल्ट
बेस्सरी उसको गालामा चुमें
सम्झेर ल्याइदिएको केही चकलेटहरु
दिएँ

रक्सी नपिएको साँझ
बेलैमा घर फर्किएँ

महिनौंदेखि छरपष्ट पुस्तकहरु मिलाएँ
केहि मैंलो कपडाहरु धोएँ
बालाई पराल तान्न सघाएँ
बुढी हजुरआमालाई औषधी खुवाएँ
छोरीलाई होमवर्क सिकाएँ
अब चै म अरब भए पनि जान्छु भनेर
श्रीमतीलाई फकाएँ
तरकारी काट्न सघाएँ
पन्ध्रबर्षसम्म पनि त्यहीँ काठमाडौंबाट
किन घर आउन सकेनन् ठुल्ददाई
सम्झिएर निकै भावुक भएँ
हजुरबाले रोप्नु भएको
बुढो आँपको रुख
निकैबेर हेरिरहें

कुटुम्ब घर गइसकेका
बहिनीहरुलाई फोन गरें
हालखबर सोधें
धरैपछि घरमुन्तिरको
बास झ्याङ्मा बास बस्ने
रुपीहरुको आवाज सुनें

रक्सी नपिएको साँझ
बेलैमा घर फर्किएँ

चिहानडाँडा छेऊको
माथिल्लो बारीमा कोदो टिप्न गएकी
आमालाई लिन गएँ
थरथर काम्दै गरेको
उनको हात, चाउरिदै गएको अनुहार
रुग्ण शरीर
राम्ररी नियालें
भित्रभित्रै बेस्सरी रोएँ

आह !
कति दर्दनाक घाउहरु बोकेर
अस्ताउदो रहेछ मेरी आमाको
घाम

हौ ! लुङा !!
तिमी चैं हिजो
कति बजे
घर फर्कियौ ?

(स्रोतः पृथ्वीको आविष्कार)