Advertisement Ad

दुई गजल

Advertisement Ad

– अम्बिका योङहाङ

१.
तिम्रो कुरा सधैंभरी, बर्खामासे भल जस्तो,
मेरो कुरा पहाडको, सफा सङ्लो जल जस्तो ।

तिमीसँग घण्टौंसम्म, कुराकानी भए पनि,
किन लाग्छ मलाई यस्तो, मात्र केहि पल जस्तो ।

तिम्रो रुप तिम्रो अङ्ग, हेरि हुन्छु म त दङ्ग,
अजम्मरी फूल जस्तो, बाह्रमासे फल जस्तो ।

हाम्रो जोडि हेरि सबै, तारिफ गर्ने गर्छन् यहाँ,
भएका छौ भन्छन् सबै, साँच्चै मिल्या हल जस्तो ।

२.
झिलिमिली शहरमा छौ,
फूलहरुको नजरमा छौ ।

मेरो कहाँ छैनौं र प्रिया,
मुटुमा छौ, अधरमा छौ ।

जूनले पनि इश्र्या गर्ला,
गुलाफ फुल्ने प्रहरमा छौ ।

तिमी रदिफ, म काफिया,
मेरो गजलको बहरमा छौ ।

देउमाई नपा–२, पुङफुङ, इलाम