Advertisement Ad

राज दिलाञ्जलीका दुई गजल

Advertisement Ad

– राज दिलाञ्जली

१.
कि त संसार यति धेरै, ठूलो नहुनु पर्थ्यो,
कोही जून कोही धर्तीको, धुलो नहुनु पर्थ्यो।

सुन जोख्नु हिरा जोख्नु, स्वभाविक नै लाग्छन्,
मानवता र प्रेम जोख्ने, तुलो नहुनु पर्थ्यो।

एउटा भोको मनुवाले, घुमाई–घुमाई हेर्दै,
मनमा सोच्यो यो रोटीमा, दुलो नहुनु पर्थ्यो।

तिम्रो अनि मेरो भाग्य, उस्तै–उस्तै भए,
उता भतेर यता चिसो, चुलो नहुनु पर्थ्यो।

बग्दा–बग्दै एउटा रित्तो, तलाउ बनेँ आज,
गहहरु आँसु बग्ने, कुलो नहुनु पर्थ्यो।

२.
काँच भन्दा नि नाजुक हुन्छन्, दिलका दिवारहरु,
किन हुन्छन् दिलमै फेरि, निर्मम प्रहारहरु ।

सम्झौतामा जुट्छन् विस्वास, तोड्छन् एकथरिले,
क्षणमै बन्छन् क्षणमै ढल्छन्, हिउँका दरबारहरु ।

अचम्मै भो हिजोआजा, तर्की–तर्की हिंड्छन,
लज्जावती छुँदै हिंड्ने, चोरका सरदारहरु ।

खोई कता बसाई सर्यो, संवेदना चरी,
दिउँसै गला रेट्न आउँछन, फूलका तरबारहरू ।

कुन्नि कसले सिकाई दियो, मनरानीलाई अचेल,
गठन गर्दै भङ्ग गर्न, मनका सरकारहरु ।

फाल्गुनन्द–१, तिजोक, पाँचथर