Advertisement Ad

ठुलीलाई चिट्ठी

Advertisement Ad

– सन्देश सुब्बा

ठूली !

समयको एउटा अन्तरालपछि आज तिम्रो नाममा यी शब्दहरु लेख्दैछु । यो पल मेरो हृदयको केन्द्रभित्र एउटा बेग्लै किसिमको शीतलताको तरङ्ग सञ्चार भइरहेको छ । म चाहन्छु– जीवनका सबै पलहरुमा, तिम्रो याद र सम्झनामा म यस्तै शीतलताको आभाष पाइरहुँ ।

ठूली ! यो सम्झना भन्ने चिज साँच्चै आजीवको हुँदो रहेछ । नसम्झुँ  भन्दा पनि आइरहने । हो ठूली ! आज पनि म तिमीलाई उस्तै सम्झिन्छु, जस्तो हिजो सम्झिन्थें । भर्खरै बर्षातले नुहाएको धरतीमा शरद ओर्लिएको छ । धान झुल्न थालेको टाहारी खेत, कोदो फुलेको गैरीबारी, अहा ! कस्तो राम्रो देखिएको छ । आँगनैभरी मखमली र सयपत्री वैंश फक्रिने क्रममा छन् । यो मौसम, यो परिवेशले भन्छ– दशैं, तिहारको बेला हो यो ।

शरदकालीन सम्यक् मौसम मलाई औधी मन पर्छ । समयको नियमित चक्रमा घुम्दैफिर्दै आइपुग्ने यो सिजनले मलाई जसै तिम्रो याद दिलाउछ । सुदूर अतितका अनुपम क्षणहरुमा पुर्याएर नोष्टाल्जिक बनाउछ । आखिर मन न हो त्यसै–त्यसै भावुकताले भरिएर आउछ ।

ठूली ! तिमीलाई त्यसै याद छ कि बिर्सिसक्यौ ? सानोमा हामी एकदिन तिम्रो घरको आँगनबाट, अर्कोदिन मेरो घरको आँगनबाट दशैं आउने बाटोभरी आँखा बिछ्याएर दशैंलाई कुर्थ्यौं। दगुर्दै दगुर्दै पर क्षितिजमा पुगेर घाम डाँडापारि खसिजान्थ्यो । जसै दिनभरी पर्खेको दशैैं आइपुग्ने आसा पनि शून्यताको गहीरो भासमा कतै बेपत्ता भइजान्थ्यो । हामी उदास अनुहार लिएर छुट्टिन्थ्यौं ।

काठे साँघु तरेर खोलावारिको घर आइपुगेपछि पनि म अँध्यारो नखसुञ्जेल तिम्रो घरको आँगनतिर हेरिरहन्थें । तिमी पनि उसरी नै मेरो घरतिर नजर फर्काएर उभिरहेकी हुन्थ्यौ ।

पर्खिदा–पर्खिदा पनि नआएपछि उदासीले छोपेको एकदिन साँच्चै हाम्रो घरआँगन र संघार कुल्चिदै दशैं आइपुग्थ्यो । सपना जस्तै बनेर आइपुग्थ्यो । एक जोडी नयाँ नाना स्कुल ड्रेस सर्ट–पेन्ट र सर्ट–फ्रक भएर आइपुग्थ्यो । उदास पाइतालामा एकजोडी हात्तिछाप चप्पल भएर आइपुग्थ्यो । दुईचारदिनलाई पुग्ने जाउलो र चाचा भएर आइपुग्थ्यो । जसले भान्साको मुहारै उज्यालो पार्थ्यो। बालापन भन्नु यस्तै त होला ! हामी हर्षले बिभोर हुन्थ्यौं । उफ्रिन्थ्यौं खुसीले ब्रुक–ब्रुक । चिच्याउथ्यौं जोड–जोडले ।

म सम्झिन्छु– हामीले चङ्गाचेट गरेको त्यो अन्तिम दशैं । दुर्भाग्य भनौं या त बिडम्बना ! धागो चुडिएर शून्य आकाशको बिपरित दिशातिर बेपत्ता भइगएका थिए हाम्रा चङ्गाहरु । त्यसबखत वास्तवमै चीसा भएका थिए हाम्रो मन सँगै आँखाहरु पनि । आज जसरी तिमी र म यो गोलो पृथ्वीको अलग–अलग ध्रुवमा जिन्दगी खोजिरहेका छौं । सायद त्यो क्षण यहीँ परिस्थितिको पूर्वसंकेत थियो कि !

मस्तिष्कभित्र चेतनाहरु कुर्किदै गएर स्व–त्वको बोध गर्न थालेपछिको एकदिन तिमीले आवेशमा भनेथ्यौ– ‘‘ओई कान्छा ! हामीमाथि जबरजस्त लादिएको दशैं अबदेखि हामी कहिल्यै मनाउदैनौंं । हामी हाम्रै मौलिक तङ्नामहरुमा रमाउनेछौं । अब हामी हिजोको अबोध बालक रहेनौं कान्छा !’’ त्यो दिन तिमी निकै कठोर देखिएकी थियौ । शासकहरुको साँस्कृतिक दमनका अध्यायहरु पल्टाएर आगो बिचारहरु ओकल्दा लागेथ्यो– म कुनै क्रान्तिकारी योद्धाको अघि उभिएको छु । हो ठूली ! त्यो दिन तिमीले रामलिहाङ र रिदामाको प्रशंग उठाउदा म एकैपल्ट भावुक र आक्रोशित भएको थिएँ । तिमी जस्तै म भित्र पनि बिद्रोहको ज्वाला दन्किएको थियो ।

ठूली ! त्यसयता मैंले हाम्रो मुन्धुमले कतै नबोल्ने दशैं कहिल्यै मनाईंन । तर, यो पर्वप्रति सदैव मेरो सम्मान छ । यो पर्व मनाउने समुदायप्रति शुभकामना व्यक्त गर्छु । दशैं पर्व बिशेष कार्यक्रम र उत्सवहरुमा पुगेर सहिष्णुता, सद्भाव र हार्दिकता बाँढ्छु । ठूली ! हामीले यी पक्षहरुको पनि ख्याल गर्नुपर्ने रहेछ । पृथक समुदाय, संस्कार र साँस्कृतिक मूल्य–मान्यताहरु बोकेर उभिएका हाम्रा भावनाहरुलाई टुक्रा–टुक्रा हुन नदिन हामी सचेत बन्नैपर्छ । हाम्रा भावनाहरुलाई जोडिराख्न हाम्रा साँस्कृतिक पक्षहरुको भूमिका बिशेष र महत्वपूर्ण छ ।

ठूली ! तिमीसित आज म राम–रावण–दुर्गा–शुम्भ–निशुम्भ कसैको विषय र प्रशंगको व्याख्या गर्ने छैन । यी विषय र प्रशंगलाई व्याख्या गर्न सक्ने ल्याकत पनि छैन मसित । वस ! म त तिमीसित थोरै सद्भाव, थोरै सहिष्णुता र थोरै हार्दिकतालाई जोड दिन खोजेको हुँ । साँस्कृतिक अतिवादप्रति मेरो बिमति छ, ठूली ! निषेध र बहिष्करण मेरो निम्ति स्वीकार्य छैन ।

मलाई लाग्छ– एकले अर्काको अस्तित्व र पहिचानलाई सम्मान गर्ने भन्ने हाम्रो चरित्र एकल नश्लीय राज्यसत्ताको जस्तो हुनु हुँदैन । यहीँ राज्यसत्ताको निषेध र बहिष्करणमा परेका हामीले पुस्तौंदेखि हाम्रो भाषा, लिपी र संस्कृतिको लागि लड्नु परेको छ । त्यसैले हामीले एकले अर्काको संस्कृतिलाई सम्मान गर्न सक्नुपर्दछ । र, राज्यको नजरले सबैकाे संस्कृतिलाई समान देख्न सक्नुपर्दछ । हामीले व्यवहारतः यसको अनुभूती कहिल्यै, कहिल्यै, कहिल्यै गर्न पाएनौं । तसर्थ एकल जातीय राज्यसत्ताको साँस्कृतिक जेनोसाइड बिरुद्ध हाम्रो कदम कहिल्यै थाक्ने छैन ।

ठूली ! आसा छ तिमीले यो कुराको गहीरो गरी बोध गर्नेछौ । वश !

तिम्रो बालसखा– कान्छा
२८ असोज ०८० आइतबार