Advertisement Ad

Advertisement Ad

हिन्दूकृत भएका याङवरके लिम्बुहरु र निशान

दिलेन्द्र कुरुम्बाङ

६ कार्तिक २०८०, पाँचथर। याक्थुङ लिम्बुहरुमा एउटा प्रख्यात भनाइ छ– ‘नीति र सामृति’। पहिला त नीतिवालहरुले सामृतिवालहरुलाई छुवाछुतकै व्यवहार गर्थे। भरसक्य नाता कुटुम्ब नै जोड्दैनथे। परम्परागत संस्कार, सँस्कृति मान्ने लिम्बूहरु नीतिवाल हुन् भने हिन्दू संस्कार सँस्कृति अपनाएर हिन्दूकृत हुने लिम्बूहरु सामृतिवाल भए।

मनुस्मृतिको परम्परा ग्रहण गरेको हुनाले मनुस्मृति भन्न नजानेर लिम्बू जनजिब्रोले सामृति भनेको हो। उहिले याङवरके लिम्बुहरुले जनाइ धारण गरेर हिन्दूकृत भए। तर, पान्थरेहरुले जनाइ धारण गर्न इन्कार गरे। त्यसैले याङवरकेहरु सामृतिवाल भए भने पान्थरेहरु नीतिवाल भए। नीतिवाल पान्थरे लिम्बुहरुले हिन्दुकृत सामृतिवाल याङवरके लिम्बुहरुलाई पुरै छिछि र दुर दुर गर्थे।

पान्थरेहरुको पेलाइका कारण पछि याङवरकेहरुले पनि जनाइ फुकालेर काङ्वा (काबेली) खोलामा बगाइपठाए। जनाइ लगाउन छोडे। बिस्तारै पान्थरे र याङवरकेहरुबीचको दूरि कम हुन थाल्यो। र, अहिले शून्य अवस्थामा पुगेको छ।

शाहवंशीय राजाहरुबाट लिएको निशान (जुन हिन्दुकरणको उपल्लो कडी हो) त्यो अझै कायम छ। निशान नचाउन सहज छैन। धेरै आर्थिक भार पर्दछ। लिम्बुहरुलाई गरिबीको खाडलमा जाक्ने यो एउटा हतियार हो, भने हिन्दूकरणको दर्बिलो साधन पनि।

सुब्बाले पाएको अधिकार जति सबै राज्यले खोसेर लग्यो। तर, हिन्दू दशैं र आर्थिक व्ययभार बोक्ने दायित्व चाहिँ लिम्बूहरुले बोकिराखेका छन्। राज्यद्वारा लादिएको हिन्दू धार्मिक चाड दशैं परित्यागबारे सचेत वर्गले आव्हान गरिरहेको छ। तर, हिन्दूकृत याङवरके लिम्बूहरुको तमासा अचम्मको छ !

(लेखक तथा भाषाविज्ञ कुरुम्बाङको प्रस्तुत बिचार उहाँको नीजि हो, यो सामग्रीलाई हामीले उहाँको फेसबुक वालबाट लिएका हौं। सं.)