Advertisement Ad

Advertisement Ad

‘काङ्सोरे पुरस्कार’ इतिहासकार चेम्जोङलाई मरणोपरान्त प्रदान गरिने

१४ असार २०८२, विजयपुर। लिम्बुवान नागरिक समाज (लिनास) युकेले वितरण गर्ने ‘काङ्सोरे पुरस्कार’ यसपटक इतिहासकार स्व. इमानसिङ चेम्जोङलाई प्रदान गरिने भएको छ । उनी मरणोपरान्त यो पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन् ।

लिनास युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्व. चेम्जोङलाई इतिहास, भाषा, लिपि, अनुसन्धान, प्राज्ञिक अन्वेषण र लिम्बुवानको राजनीति उठान गर्न पुर्याएको अतुलनीय योगदानलाई उच्च कदर र मूल्यांकन गर्दै काङ्सोरे पुरस्कारले सुशोभित गर्न लागिएको उल्लेख गरेको छ । पुरस्कारको राशी नगद एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक तीन तीन वर्षमा वितरण गरिने यस वर्षको काङ्सोरे पुरस्कार (सन् २०२५÷वि.सं. २०८२) इतिहासकार, साहित्यकार, खोज अनुसन्धाता, लिपिकार, भाषाविद, दर्शनविद स्व. इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) लाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेका छौँ । उहाँले इतिहास, भाषा, लिपि, अनुसन्धान, प्राज्ञिक अन्वेषण र लिम्बुवानको राजनीति उठान गर्न पुर्याएको अतुलनीय योगदानलाई आधार मान्दै पुरस्कार छनोट समितिले स्व. चेम्जोङलाई काङ्सोरे पुरस्कार का लागि योग्य ठहर गरेको हो ।’ विज्ञप्तिमा अध्यक्ष छत्र वनेम र सहसचिव अमित थेबेको हस्ताक्षर रहेको छ ।

उक्त पुरस्कार धरानमा यहीँ आउँदो जुलाई ५ तारिख तद्नुसार असार २१ गते शनिबारका दिन स्व. चेम्जोङलाई प्रदान गरिने समाजका अध्यक्ष वनेमले बताए । उनले प्रदेश एकका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिने जनाएको छ । सो कार्यक्रमको व्यवस्थापन किरात याक्थुङ चुम्लुङ सुनसरी र धरान उपमहानगर समितिले गर्ने उनले बताए ।

समाजले सन् २०२२ (वि.सं.२०७९) मा पहिलो पटक याक्थुङ भाषा, सिरिजङ्गा लिपिको प्रचार र चार दशकदेखि लिम्बुवानको मुद्दा उठाउन सक्रिय भूमिका खेलेबापत् पान्थर याम्बोङका नेता वीर नेम्वाङलाई प्रदान गरिएको थियो ।

लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले साढे एक दशकदेखि क्रियाशील रहेको लिम्बुवान नागरिक समाज यूके सन् २००९ मा बेलायतमा स्थापना भएको हो । लिम्बुवान प्राप्तिका लागि उल्लेख्य योगदान पु¥याउँदै आएका एक व्यक्तित्वलाई काङ्सोरे पुरस्कार प्रदान गरिँदै आएको छ ।

लिम्बुवानका सेनापति एवम् योद्धा काङ्सोरे लिम्बुको स्मृति र सम्मानमा काङ्सोरे पुरस्कार को स्थापना गरिएको हो । काङ्सोरेले सन् १७७४ मा सभाया खोलाको किनारमा तत्कालीन गोरखाली सेनासँगको युद्धका क्रममा सहादत प्राप्त गरेका थिए ।