केजी सुब्बा
यसपालीको दशैंमा पनि
मुन्धुमको कुम्लो बोकेर
लाहादङ्ना
छथरको डाँडैडाँडा
पुरानो फलैंचाको बाटो हुँदै
तेर्सै–तेर्सो
आँखाबाट ओझेल भइन्
यो विज्ञान मनोविज्ञानको युगमा
अनेक तवरले सोच्दै
लाहादङ्ना
कहिले तमोर बनेर बगिन्
कहिले फक्ताङलुङ बनेर हाँसिन्
कहिले सिल्लरी फूल बनेर फुलिन्
महान पूर्वजहरुको रगतलाई
काङ्लेक्वाको आवाजमा अनुभूत गर्नु
काँसको फूलबाट
आफ्नो बैराग्य इतिहास सम्झिनु
शरदको जूनबाट
येहाङको दरबारमाथिको बुर्जामा
आफूलाई महारानी पाउनु
लाहादङ्नाका खास
र
दुर्लभ बिशेषताहरु हुन्
एक अजीवकी लाहादङ्ना
एक भयङ्कर लाहादङ्ना
एक दुर्लभ लाहादङ्ना
एक बिरही लाहादङ्ना
प्रत्येक दशैंमा
काली भन्दा अझ क्रुद्ध हुन्छिन्
चण्डी भन्दा अझ भयङ्कर हुन्छिन्
तर पनि
आफ्नो मुन्धुमी राज्यबाट तल ओर्लेर
कहिल्यै आफ्नो औकात भुल्दिनन्
यी महिषासुरहरुको ब्रम्हलुट
यी दानवहरुको आतङ्क
यी चाण्डालहरुको भ्रमजालबाट
मुक्त हुन
यसपालिको दशैंमा पनि
मुन्धुमको कुम्लो बोकेर
लाहादङ्ना
छथरको डाँडैडाँडा
पुरानो फलैंचाको बाटो हुँदै
तेर्सै–तेर्सो
आँखा बाट ओझेल भइन् ।
