Advertisement Ad

प्रथम वाइ वाइ किरात गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

Advertisement Ad

१५ मंसिर २०८०, पाँचथर। जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ किरात गोल्डकपको तयारी पूरा भएको छ।

आयोजक पाँचथर फुटवल क्लवले शुक्रबार फिदिम खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन समारोह शनिबार बिहान साँढे ११ बजेदेखि हुने बताइएको छ। प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य, पूर्व प्रदेशमन्त्री समशेर राईले गर्ने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए।

पहिलोपल्ट सञ्चालन हुन लागेको प्रतियोगिताको लागत यसअघि ५१ लाख अनुमान गरिएको थियो। यद्यपी, खेलमैदानको मर्मतसम्भार लगायत कारणले प्रतियोगिताको लागत करीब ७० लाखसम्म पुग्न सक्ने क्लवका सचिव राजु राईले बताए। फिदिम खेलमैदान पुननिर्माणको काम लामो समयसम्म पनि सम्पन्न नहुँदा उक्त खेलमैदानमा लामो समय अन्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता हुन सकेको थिएन।

वाइ वाइ मूख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपबिजेताले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछ। लामो समयपछि सदरमुकाममा अन्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता हुन लाग्दा जिल्लाका फुटवलप्रेमी उत्साहित छन्। पाँचथरसँगै छिमेकी जिल्लाका फुटवलप्रेमी समेत किरात गोल्डकपको पर्खाइमा छन्।

प्रतियोगिताको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रतियोगितालाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुने फिदिम खेलमैदानमा दुई वटा सिसि क्यामेरा प्रतियोगिताको निगरानी गरिने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ।

एक विदेशी र एक ए डिविजन क्लव सहित आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुको सामना गर्नेछ। खेल दिउँसो साँढे १ बजेदेखि सुरु हुने खेलकुद संयोजक अइन्द्र जबेगुले बताए।

प्रतियोगिताको खेल तालिकाः
मंसिर १६ गते १ः३० बजे पाँचथर फुटवल क्लव–मित्तेरी फुटवल क्लव तेह्रथुम
मंसिर १७ गते १ः३० बजे रेडहर्ष फुटवल क्लव इलाम–बिर्तामोड युनाइटेड क्लव झापा
मंसिर १८ गते १ः३० बजे डिएफसी मोरङ–युनाइटेड फुटवल क्लव दार्जिलिङ
मंसिर १९ गते १ः३० बजे कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ–हिमालयन शेर्पा क्लव काठमाण्डौ