सन्देश सुब्बा
१६ पुस २०८०, पाँचथर। पाँचथरका १८ बर्षीय ठिटो नोगेन लिम्बू हाङसरुम्बा जारी सिजनको द भ्वाइस अफ् नेपालको अन्तिम ‘६’ मा पुगेका छन्।
नोगेन अहिले फाइनलिष्ट बन्ने प्रतिश्पर्धामा छन्। पछिल्लो हप्ताको दुई लाइभ शोबाट उनी अन्तिम ‘६’ प्रतिश्पर्धीभित्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्। पछिल्लो हप्ताको लाइभ शोमा नोगेन ‘डेन्जरजोन’ पार गर्दै अघि बढेका प्रतिश्पर्धी हुन्।
गत शनिबार राती भएको लाइभ शोको ‘डे सिक्स’मा नोगेन फफर्मर अफ् द डे बने। तर, त्यो सँगै ‘डेन्जरजोन’मा परे। टिम प्रमोद खरेलबाट द भ्वाइस अफ् नेपालको स्टेज तताइरहेका नोगेन र टिम मिलन नेवारमा रहेकी दार्जिलिङकी ट्रिजा प्रधान ‘डेन्जरजोन’मा थिए।
दर्शकले दिएको भोटको आधारमा नोगेन ‘डेन्जरजोन’ पार गर्दै अघि बढे भने ट्रिजाले द भ्वाइस अफ् नेपालको स्टेज छाड्नुपर्यो। स्टेज छाडेर जानुपर्दा स्टेजमै ट्रिजाका आँखा भिजे। जुन दृष्यले दर्शकलाई निकै भावुक बनायो।
अन्तिम ‘६’ प्रतिश्पर्धी मध्ये अब फाइनलिस्ट बन्नका लागि टिम राजेशपायल राईबाट मोनिका राई र मकरबहादुर योञ्जन अनि टिम प्रमोद खरेलबाट नोगेन लिम्बू र तेन्जिङ डोल्मा गुरुङबीच प्रतिश्पर्धा हुनेछ।

नोगेन लिम्बू हाङसरुम्बा ।
आगामी शुक्रबार र शनिबार हुने लाइभ शोबाट द भ्वाइस अफ् नेपालको सिजन–५ ले ४ फाइनलिस्ट प्राप्त गर्नेछ । मोनिका, मकर, नोगेन र तेन्जिङमध्ये २ जना फाइनलिस्ट बन्नेछन्। टिम उदय सोताङबाट कुमार प्रयास राई र टिम मिलन नेवारबाट बिनोद राई यसअघि नै फाइनलिस्ट बनिसकेका छन्।
भ्वाइस अफ् नेपालको स्टेजमा निरन्तर धमाकेदार प्रस्तुती दिइरहेका नोगेन उपाधी नजिक पुग्न अहिले दर्शकको साथ खोजिरहेका छन्। दर्शकले आफ्नो प्रतिश्पर्धीभन्दा बढी भोट दिएको खण्डमा नोगेन फाइनलिस्ट बन्नेछन्। र, उपाधीका लागि प्रतिश्पर्धा गर्न पाउनेछन्।
त्यसैले नोगेनले भोटका लागि स्टेजबाटै सबैलाई अपिल गरिसकेका छन्। पूर्वका स्टेजहरुमा देखिइरहने पाँचथरे ठिटो नोगेनले भ्वाइस अफ नेपालमा दिएको प्रस्तुती धेरैले मन पराएका छन्। नोगेनको स्वरमा निखारपन र प्रस्तुतीमा दम रहेकाले उनी भ्वाइस अफ् नेपालको उपाधी जीत्न योग्य प्रतिश्पर्धी रहेको उनका संगीत गुरु बुद्धराज लिम्बूले बताए।
डिजिटल, फिजिकल, ब्लाइन्ड, ब्याटल, नकआउट चरण हुँदै लाइभ शोमा प्रवेश गरेर अन्तिम ‘६’ मा पुग्न सफल १८ बर्षीय नोगेनले भ्वाइस अफ् नेपालको फाइनलिस्ट बन्दै उपाधी दाबि गर्ने अवशर पाउछन् कि पाउदैनन् ? यसको टुंगो भने दर्शको भोटले गर्नेछ ।
यसको नतिजा आउँदो सप्ताहन्तमा आउनेछ।
