Advertisement Ad

Advertisement Ad

हिउँदे चरी

– अमित थेबे मिहाङ

पृथ्वीको कुन ध्रुवबाट आयौ ?
तर, घाम बोकेर आयौ

हुस्सुको जङ्गलभित्र छ, घर
सिरुपातेभन्दा धारिलो छ, हावा
फुस्स फुस्स हिउँले पुरेर
बरफ बनाउँदै गरेको मुटु छ, एउटा
सबै पगाल्दै आँखानेर आयौ
सायद,
मुटुनेर आयौ

कति हिमश्रृङ्खलाहरूको गलबन्दी फुकाल्दै उड्यौ
कति हिमतालहरूलाई खाडल बनाउँदै गयौ
कति हिमनदीहरू बफाउँदै आयौ
शीतलहरमा गुमनाम मैदान उघार्दै
आखिर छेऊमै रोकियौ

म त बीच बाटोमा कहाँ उभिरहेको थिएँ र
पखेटा बन्द गरेर आफैं छोपिदियौ नजर

बस् !
चिन्ता पलाउँदै छ मनमा
अब
यो हिउँद सकिएसँगै
फर्कनेछौ आफ्नै घरमा

पृथ्वीको कुन ध्रुवबाट आयौ ?
र,
घाम लिएर आयौ ।