Advertisement Ad

लुङमाहिम साइँलाको मेटामोर्फोसिस मार्गमा

Advertisement Ad

– सन्तोष नेम्बाङ लिम्बू

यो समय लेखक एवंम् निबन्धकार श्री प्रकाश थाम्सुहाङ शब्द थुम कृतिसाथ पाठक समक्ष उभिएका छन्। लाग्छ यसपालीको शब्द थुम अर्थात् शब्दहरुको शक्ति एक्लो सतीसालझैं बर्षौंसम्म उभिने छ। पूर्वी पहाडको माटोको सुगन्ध र साँस्कृतिक सौन्दर्यताको शब्दहरुले भरिएको रचनाहरु उम्दा, पठनीय लाग्छ। उक्त कृतिको पहिलो खण्डमा व्यक्तिविम्बमा उतारिएका तेह्र वटा शीर्षकहरु छन्। पुस्तकको पहिलो शीर्षक हो– लुङमाहिम साइँलाको मेटामोर्फोसिस

यस शीर्षकमा लेखकले आफ्ना पिताको वास्तविक जीवनको परिवेशलाई शिलशिलाबद्ध रुपमा संगालेका छन्। जुन रचनामा लुङमाहिम साइँलाको पारिवारिक जीवन, राष्ट्रसेवक, सामाजिक कार्य, धार्मिक र राजनैतिक जीवनका यथार्थ परिदृश्य हुन्। इलाममा हुँदा बाजे पर्नुहुने लुङमाहिम साइँलासँग मेरो पनि धनिष्ठ सम्बन्ध थियो। बाजे–नातीको दैनिक भेटघाटमा म प्राय उहाँकै जीवन–जवानीका कुराहरु सुन्थें।

पान्थर हेंवा–खुङ्खोला आसपासका नाम चलेका अमाली सुब्बा थिए जहरमान थाम्सुहाङ। जहरमानका छ भाई छोरामध्ये श्री गणेश बहादुर थाम्सुहाङ साइँला सन्तान हुन्। जसले आफूलाई लिम्बू भाषामा लुङमाहिम साँइला लेखाउथे। लिम्बू भाषामा यसको अर्थ हुन्छ, विरही साइँला। वि.सं. १९९२ साल बैशाख १८ गते याङनाम ढाडेनीमा जन्मिएका साइँलाले औपाचारिक शिक्षा दार्जिलिङबाट प्राप्त गरेका हुन्। स्वतन्त्रता र प्रजातान्त्रिक आस्थाका पक्षधर साइँला सात सालदेखि रेडलिष्टमा रहेको स्वंयम् लेखकले उल्लेख गरेका छन्। त्यसताका पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा सुब्बाहरुको मातहतमा किपट भूमी अर्थात् बेचेर नबेचिने, किनेर नकिनिने जमिन कायम रहेको थियो।

जग्गा जमिन भोगचलन गर्दा सुब्बाहरुलाई सर्तअनुसार रैती अर्थात् जनताले अन्नबाली बुझाउथे। जसरी हाल सिक्किम लगायत विकसित राष्ट्रमा जमिन राष्ट्रको हुन्छ। भोगचलन गरे बापत नियमानुसार सेवा शुल्क तिरे पुग्छ। प्रजातन्त्र स्थापनापछि किपट भूमीहरु रैकर भनी नाँपी हुन थाल्यो। जमिन नाँपी हुन थालेपछि किनबेचको प्रथा सुरु भयो। गाउँघरमा ऋणी र आसामीको दर्जा कायम हुन थाल्यो। रैती जनतालाई आसामी, साहुमाहाजनहरुले शोषण गर्न थाले।

बि.सं. २०१३ सालमा राजा महेन्द्रलाई किपट भूमी नै कायम राख्न गएको लिम्बुवान प्रतिनिधि मण्डलमा २२ बर्षीय स्व.गणेश बहादुर थाम्सुहाङ पनि सहभागी थिए। अन्ततः राजा महेन्द्रले २०२१ सालमा भूमीसुधार लागु गरे। किपट भूमीहरु रैकरमा कायम गरियो। राजनैतिक चेत भएका लिम्बुवान प्रतिनिधि मण्डलका स्व. प्रेमराज आङदेम्बे, बृजहाङपति जवेगु, ललित बहादुर तुम्बाहाम्फे लगायत अन्यहरु राजनीतिमा लागे। यता शिक्षित गणेश बहादुर थाम्सुहाङ निजामति सेवामा प्रवेश गरे। वि.स. २०१८ देखि २०२० साल सम्म इलाम तथा चन्द्रगढी खाद्य संस्थानको असिस्टेन्ट सुब्बा पदमा बहाली भए।

स्व.गणेश बहादुर थाम्सुहाङ।

जागिरे जीवनकालमा पूर्वाचञ्चलका प्रायः सबै जिल्लाहरुमा पुग्ने जिम्मेवारी पाए। त्यसताका झापाको धान लगायत नगदे बाली उत्पादन भारततिर निर्यात हुन्थ्यो। धनकुटामा सुन्तला खेती, पाँचथर, ताप्लेजुङमा अलैची, इलाममा चिया खेती प्रसिद्ध थियो। वि.सं.२०२० साल देखि २०३० सालसम्म संस्थानको अधिकृत पद रहँदारहँदै राजीनामा दिए। राष्ट्र सेवाबाट अवकाशपछि थाम्सुहाङ साइँला बाजेले इलाम गढीमा कृषी कर्म गरेर बाँकि जीवन बिताउनुभएको थियो। इलाममा सुन्तला, अलैंची, अन्य फलफूल खेती किसानीकर्म सँगै अन्य सामाजिक कार्यहरुमा समेत सक्रिय हुनुहुन्थ्यो। इलाम बसाइकै क्रममा मधुमेह, उच्च रक्तचापले उहाँलाई क्रमशः सताउन थाल्यो। बि.सं. २०६५ फाल्गुन २८ मा उपचारको क्रममा काठमाडौं हेम्स अस्पतालमा उहाँको निधनको खबर पायौं।

इलाम सदरमुकामबाट बढीमा ३ किलोमिटर दुरीमा रहेको इ.न.पा. ९ शिक्षाको दृष्टिकोणमा पछि थियो। सदरमुकाम नजिक भएर पनि बत्तिमुनिको अँध्यारो भने जस्तो त्यस स्थानमा शिक्षाको जागरण थिएन। मिश्रित जातीहरुको बसोबास भए तापनि अधिकांस घरपरिवार श्रममा आश्रित थिए। गढीगाँउलाई श्रमिक अर्थात् धुरा बस्ती भनिथ्यो। सीमित परिवारहरुसित मात्र जग्गा जमिनको स्वामित्व थियो। बि.सं. २०२६ सालमा इ.न.पा. ९ मा श्री दृपादेवी प्रा.वि.स्थापना गरियो। विद्यालयलाई उनै लुङमाहिम साँइलाले निशुल्क जग्गा प्रदान गरे।

स्थानीय बरभैया, बालनगाँउ, धुराबस्ती, गढीका बालबच्चाहरुले आफ्नै गाउँमा शिक्षा पाउन थाले। पाँचथर याङनाम ढाडेनीमा किराँत पुस्तकालय खोलेर लिम्बू मातृभाषा शिक्षालाई बढवा दिए। पञ्चायतको नाममा राजा महेन्द्रले एक भाषा एक भेषको नीति ल्याएका थिए। पञ्चायती शासकहरुले आदिवासीहरुको भाषा लिपीमा दमन गरेकै सयममा किरात पुस्तकालय खोल्नु चुनौती थियो। काठमाडौमा नेवारी भाषी कविहरु केदारमान व्याथित, चितन्धर हृदय, सिद्धीचरण श्रेष्ठहरुले मातृभाषामा कविता प्रकाशन गरेको नाममा जेल परेका थिए। पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा पनि लिम्बू मातृभाषा शिक्षाको सुरुवात गर्दा बीर नेम्बाङलाई पनि राजकाज मुद्धा लागेको हो। आफ्नो मातृभाषामा छद्म नाम दिएर पूर्वी नेपालमा पनि लुङमाहिम साइँलाले कविताहरु सिर्जना गरेका हुन । किरात सिरिजङ्गा लिपीमा लेखिएको पान्डुलिपीका ठेलीहरु हाल साइँलाका कान्छा छोरा प्रकाशले फेला पारेका छन्।

देवनागरीमा लेखिएका पालाम्–ख्यालीहरु समेत छन्। विद्यालयदेखि पुस्तकालय खोल्नु शैक्षिक चेतनाको उपज हुनुपर्छ। स्वंयम् थाम्सुहाङ परिवारका सबै छोराछोरीहरुलाई एसएलसी गराउने पहिलो व्यक्तिको रुपमा पनि परिचित हुनुहुन्थ्यो। उहाँको श्रीमति किरातनोमा नेम्बाङ समेत साक्षर। थाम्सुहाङ बज्यैले त्यसबेला देवनागरी र सिरिजङ्गा लिपीका पत्रपत्रिका पढिरहेको, शास्त्र वाचन गरीरहेको देख्दा गैर लिम्बू छिमेकीहरु अच्चमै मान्थे। मैंले पनि किरात सिरिजङ्गा लिपी साइँला बाजेसँगै सिकेको हुँ। यसका अलावा मैंले थाम्सुहाङ बाजेसँग सतरंज खेल्न, बाँघचाल खेल्न, फाल्गुनन्द र तिर्ने लामाको कथा, बीपी र खुकुरी दलको तान्डव, नेहरु र गान्धीको राजनीति, स्व.पदम सुन्दर लावतीको विकास देखि सतपालजी महाराजको धर्म दर्शन पनि उनै साइँला बाजेसँग सिक्ने, बुझ्ने अवसर पाएको हुँ। समग्रमा लुडमाहिम साइँला उर्फ थाम्सुहाङ बाजे धार्मिक, राजनैतिक चेत भएका, सामाजिक व्यत्तित्व, शिक्षाप्रेमी देखि मातृभाषी कवि थिए। उहाँको सम्झनामा एक ‘सत्य किस्सा’ मलाई मित्र उत्तम गुरुङले सुनाए।

इलाम चियाबारीको पल्लो छेउ अलैंची र सुन्तला बगान बीचमा ढुङ्गामाटोले बनेको तीनतले घर छ। ठूलो आँगन, फूलबारी सँगै वरीपरी सुन्तलाबारी, घरको आसपास पटपटेर नाली धाराको मुहान छ। जहाँ धुरावासी, गढीबासीहरुले दैनिक खानेपानीको जोहो गर्छन्। ती धाराहरुबाट नै सिँचाइ हुने गरी अलैंची खेती र सुन्तला बगान लगाउने पहिलो व्यक्ति नै हुनुहुन्थ्यो उहाँ। घरघुर्यानको खेतबारीमा पान्थरबाट अलैंचीका बिरुवा ल्याए, अलैंची बगान लगाए। अलैंची बगानको झ्याङ्भित्र पसियो भने हतपत साथी नभेटिने। त्यसबेला अलैंची दशंै–तिहार ताका पाक्थ्यो। पाकेपछि अलैंचीको बुँगा सुन्तला जतिकै गुलियो चपाए भने बास्नायुक्त हुन्छ।

दृपादेवी पढ्ने केटाकेटीहरु कहिले अलैंची, सुन्तला, कागती नास्पाती, कटर, अमला, अम्बा, टिम्बुर, रिठ्ठा, लप्सी, रुद्राक्ष चोरी खान बगान र बारी भरी पस्थे। बारी बगानतिर हुलहुलै पसेका केटाकेटीहरुले फलफूलका हाँगाविगा भाँचिदिएर तमास गर्थे त कहिले कोदोबारी भरी कोदोको नल चुसेर, लुकामारी खेली कोदो र धानबारी माडी दिएर हैरान पार्थे। त्यसबेला दृपादेवी पढने बालबच्चाहरु उहाँको बगैँचामा पसेर फलफूल खानलाई भए पनि स्कुल जान छुटाउदैनथे।

कहिलेकाही अभिभावकहरु आफ्नो बालबच्चा स्कूलबाट घरमा नआए उनै बाजेको धुर्यान बगानतिर खोज्न पुग्थे। बेला–बेलामा शिक्षक गुरुआमाहरुलाई टिफिन समयमा केटाकेटी सम्हाल्नै हम्मे हम्मे पथ्र्यो। बेलाबखत चोरी खाने केटाकेटीहरुलाई तर्साउन बगान तथा बारी तिर बुख्याँचा बनाएर राख्थे। केटाकेटीहरु थाम्सुहाङ बाजे बगानमा बन्दुक बोकेर बसेका छन् भन्थे। कहिले घरमा बस्ने कारबारी बाजेलाई फलफूलको हेरालु राख्थे। अग्लो कदका साँइला बाजे मलमलको दाउरा सुरुवाल, कोट, ढाकाटोपी पहिरनमा दृपादेवी प्रा.वि. पुगिरहन्थे। विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले पनि विद्यालय पुगिरहन्थे। मौका मिल्दा विद्यालयको प्रार्थनाकालमा विद्यार्थीहरुलाई राम्रो पढ्न, असल बन्न, ज्ञानी हुनुपर्छ भनि शिक्षक विद्यार्थीहरुलाई अर्ति उपदेश दिन्थे। बालबच्चाहरुलाई लौरी सिर्कना भन्दा मनोविज्ञानले तर्साउनुपर्छ भन्ने सिद्धान्तका पक्षधर थिए। बालबच्चाहरु पनि थाम्सुहाङ बाजे भनेपछि डरले र लाजले पर परै हुन्थे।

एक दिनको कुरा। दृपादेवी पढ्ने बालेन अधिकारी र उत्तम गुरुङ पाकेको अलैंची खान पल्केका रहेछन्। हप्तादिनदेखि नै दुबैजना स्कुलै नगई दिनभरी अलैंची बगानमा पसी अलैंची खाँदै रमाउदै बगानमा बस्दा रहेछन्। उनीहरु दिनहुँ बोटैपिछे छानिछानि अलैंचीको बुँगाबाट अलैंची केस्रा छोडाउदै खाईरहेका हुन्थे। अग्लो घरको बरन्डामा बसेर घाम तापिरहेका साँइला सुब्बाले घरमुनिको अलैचीबारीमा केहि पसेको सुइको पाए। इलामको गाँउघरमा उहाँलाई गैर लिम्बूहरु सुब्बा साप भनेर चिन्दथे। त्यसबेला सुब्बा सापले अनुमति प्राप्त जोरनाले बन्दुक साथैमा राखेका थिए। अलैंची पाकेपछि असाध्यै गुलियो भएर होला फलफूल मात्र खाने जंगली काला भन्ने जन्तुले (फलफूल मात्र खाने जनावर, शिकार गरी खान मिल्ने ) खेदो नै लाउछ।

 

वि.सं.२०१३ साल मंसिर १३ गते पल्लो किरात लिम्बुवानका विभिन्न मागहरु राखेर राजा महेन्द्रलाई भेट्न गएको लिम्बुवान प्रतिनिधिमण्डल, जसका एक सदस्य स्व.गणेश बहादुर थाम्सुहाङ पनि थिए।

साइँला सुब्बा पनि अलैंची बगानमा कालाले हप्ता दिनदेखि अलैंची खाइरहेको अनुमान लाएपछि बिरालोको चालमा जोरनाले बन्दुक काँधमा भिरी सुटुक्टै अलैंचीबारी छिरे। पुरै शिकारी चालमा तयारी अवस्थामा रहेको बन्दुकको कुँदा दाँहिने काँधमा अडेस लगाएर काला आउने गौडा बाटो ढुकेर बसे। कालाहरु पनि बिस्तारै बिस्तारै अलैची खाँदै–खाँदै बगानको सिरानतिर पुग्न लागेका के थिए। शिकारी र कालाहरु बीचको दुरी एकमीटर जती पुगनपुग थियो। ढुकेर बसेका साँइला सुब्बा भने बायाँ आँखा चिम्म गरी जोरनाले बन्दुक ताकेर दायाँ हातको चोरी औंलाले बन्दुकको घोडी मात्र के दबाउन आँटेका थिए। ठूलो आवाजका साथ अलैंची बगान खोल्सी नै थर्कमान हुने गरी हैठ … तिमीहरु को हौ ? मात्र के भनेका थिए दिनभरी अलैंची खाँदा–खाँदा गरेर अघाएका बालेन अधिकारी थररर काँपिरहे।

उत्तम गुरुङले सुनाएको कथा यस्तो छ– ‘‘सुब्बा साँइलाले आफ्नो काँधबाट करिब छ इन्च जति अगाडी बढाएको जोरनाले बन्दुकको नाल हाम्रै छाती अगाडी थियो। डरले हामी भयभित भयांै। बोलि अड्कियो । आ … गरेर तर्सदा मुखमा हालेको अलैंचीको गुलियो केस्राहरु बाहिर निस्की रहेको थियो। चारैतिर अलैंची बगानको घारी, घारीभित्र दुधिलो, उत्तिसको बाक्लो रुखहरु। दिनमै अध्यारो लाग्ने बगानभित्र हामी तीनजना मात्र। मैंले यसो हेरे बालेनजी दुईहात जोडेर सुब्बासाप अबदेखि अलैंची चोरी खान आउँदिन भन्दै रुँदै थियो। मेरो पनि एकछिन त होसहवास गएजस्तो भयो। अन्कन्टार अलैंची बगानमा सुब्बा सापको खोल्सी थर्कने गरी हैठ … को हौ ? आवाज र हामी दुईको रुवाबासीले बगानभित्र ठूलै घटना भए जस्तो भयो। हामीमा रुनु सिवाय के नै उपाय हुनु र ? अब उप्रान्त अलैंची चोरी खान नआउने शर्तमा साँइला सुब्बाले मलाई र बालेनलाई बगानबाट घर जाओ भन्दै पठाउनुभयो। हामी पनि ठूलै दशाबाट बाँचेझैं गरी चियाबारीभित्र घस्रदै शनिश्चरे डाडाँमा पुग्यौं। बाटामा स्कूलका साथीहरु कसैले देख्छन् कि भनि चियाको बुट्यानमा लुक्दै–छिप्दै बसिरहेका थियौं। पारि सिद्धिथुम्का डाँडामाथि मध्यान्ह पछिको घाम क्रमशः डुब्दै गइरहेको थियो। त्यसबेला शनिश्चरे डाँडाको तल चियाबारीको पिपलबोट हुँदै बाटै भरी घरतिर फर्कँदै गरेको अरु स्कुले साथीहरुलाई देख्यौं। यतिकैमा साथीले पादेर होला अलैंची जस्तो–जस्तो दुर्गन्ध आयो। दुर्गन्धले मैंलै नाख खुम्चाएँ। दुर्गन्ध बिस्तारै बिस्तारै बढ्दै गयो। त्यहाँ हामी दुई सिवाय कोही थिएन। कसो–कसो गर्दा मैंलै साथीको हाफ्प्यान्ट पछाडीबाट अलैंचीका दाना जस्ता केहि झरिरहेको देखें। ओई ! तेरो पछाडीको हाफ्प्यान्टको दुलोबाट त्यो के झरेको भन्दै मैंले नि बायाँ हातले आफ्नो कट्टु छामें। मेरो पनि कट्टुको हालत उस्तै भएको रहेछ। सम्झन्दा अघि अलैंचीघारीमा सुब्बा सापको गर्जन र जोरनाले बन्दुकको डरले अलैंची नै अलैंची आ–आफ्नो कट्टुभरी भएको बल्ल थाहा भयो। खासमा अलैंची चिसो वस्तु। बुँगाबाट छुट्टाई बदाम् निकाले जस्तो गरी निकाल्दै खानुपर्ने। अलैंचीको गुलियो दाना मुखमा पर्ने बित्तिकै चपाउनै नपर्ने। खाएपछि दाना नपच्ने। अझ धेरै खाए चिसो लागेर खोकी लाग्ने। हप्तादिन देखिको अलैंची निलेर होला चियाबारीको डाँडामा ख्वाक–ख्वाक गरी दुबैलाई खोकी लाग्न थाल्यो। त्यतिन्जेल हामी दुबैलाई पखालाले च्यापी सकेछ। खोक्दै पिच्छे पिंधमा अलैंचीका दाना मात्र निस्कने। दुबै जना लाज र डर मान्दै भोलि भेट्ने गरी आ–आफ्नो घरतिर लाग्यौं। घर पुग्दा हामी स्कुलै नगई अलैंचीबारीमा भेटिएको खबर अघि नै पुगिसकेको रहेछ। त्यसदिन हामी दुबैको सिर्कना कुटाईको व्यवस्था राम्रै भयो। बा–आमाले पनि हामीलाई अलैंची चोर कालाहरु भने। तिमीहरुको कालाको जस्तो छाला काढुपर्ने भन्दै आमा–बुवाले हकार्नुभयो। यो कुरा स्कुलका साथीभाई सर–मिसहरुले थाहा पाएछन्। हामी लाजले र डरले पेदु पेदु भयौं। त्यसपछि खोकी र पखाला लागेको बाहाना गरेर साता दिन जति हामी स्कूल गएनौ। हप्ता दिनसम्म हामीले पखाला लागेको अलैंचीको दानासरीको हाफ्प्यान्ट पटपटे धारामा धुदै बस्यौं। दशैं–तिहार पछि हामी दुबैले दृपादेवी स्कुल जान छाडेर अर्कै स्कुल फेर्यौं। स्कूल फेरेपछि प्रार्थनाकालमा उनै थाम्सुहाङ बाजेले राम्ररी पढनु पर्छ, असल, ज्ञानी बन्नुपर्छ भन्ने चेत बल्ल खुल्दै गयो। पछि म प्राथमिक शिक्षकमा स्थायी भएँ। अर्का साथी निजामति सेवामा प्रवेश गरे। हालः म थाम्सुहाङ सुब्बा साप उर्फ लुङमाहिम साइँलाले जस्तो विद्यार्थी भाइबहिनीहरुलाई अर्ति उपदेश दिदै गाउँमा शिक्षा बाँडिरहेको छु। मेरो साथी कृषी ज्ञान केन्द्रमा पोष्टिङ भएर गाउँ–गाउँमा किसानहरुलाई फलफूल खेती आदी सिकाई रहेका छन्। केहि छिमेकी मित्रहरु सुब्बासापले जस्तै नियमित धार्मिक कर्मसँगै बार्षिक रुपमा श्री सतपालजी महाराजको दर्शन भेट गर्न भारत सिलगुढी गई रहन्छन्। म पनि उहाँ जस्तै परिवारको, समाजको, राष्ट्रको सेवामा लाग्ने मार्गमा हिंडिरहेको छु।’’